कठिन समयमा कप्तान रोहितको महत्वपूर्ण अर्धशतक

आइतबार, फागुन २८, २०७९
Global Ime Bank

काठमाडौं । नेपालका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध कठिन समयमा महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् ।
रोहितले ९२ बलमा ९ चौकासहित अर्धशतक पूरा गरेका हुन् । रोहितले आफ्नो ओडिआई करिअरको आठौं अर्धशतक प्रहार गरेका हुन् । रोहित ६२ रनमा क्रिजमा छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको छ । आरिफ शेख २७ औं रनमा क्रिजमा छन् ।
भीम सार्की ३७ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए । एक समय २२(३ को खराब सुरुवात गरेको नेपाललाई चौथो विकेटका लागि भीम र रोहितले ५४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । तर मुस्तफाको २२ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका भीम लङअनमा कार्तिक मपाप्पनबाट क्याच आउट भएपछि साझेदारी तोडिएको छ ।
भीमले त्यसअघिको दुई बलमा लगातार दुई चौका हानेका थिए । तेस्रो बाउन्ड्री धुनमा विकेट गुमाए ।पावर प्लेमा नेपालले तीन विकेट गुमाएपछि नेपालले दबाबमा परेको थियो । चोभार एण्डबाट आएका स्पिनर आर्यन लाक्राले दोस्रो ओभरको पाँचौं बलमा आसिफ शेखलाई शून्यमा बोल्ड गरे । अघिल्लो खेलमा पिएनजीविरुद्ध १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका आसिफ युएईविरुद्ध भने पाँच बल खेल्दा खाता खोल्न सकेनन् ।
पाँचौं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ८ रनमा एलबीडब्लू आउट भए । स्पिनर आयन अफ्जल खानको बलमा स्विप खेल्ने धुनमा मिस हुँदा कुशल एलबीडब्लू आउट भएका थिए । नेपाललाई पछिल्लो खेलमा दुई ओपनरले पिएनजीविरुद्ध पहिलो विकेटका लागि १ सय १० रनको सानदार शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए ।
तर युएईले सुरुवात देखिनै दुवै बायाँ हाते अर्थोड्रक्स स्पिनरलाई लगाउँदै नेपाललाई दबाबमा राख्यो । अर्थोड्रक्स स्पिन नेपाली ब्याटरको कमजोरी हो ।
तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा ठूलो सट खेलेका कुशल मल्ल टप एज लागेर मिडअनमा मोहम्मद वासिमबाट ९ रनमा क्याच आउट भए । १५ बल खेलेका उनले २ चौका प्रहार गरे । जुनैद र जहुर खानले लगातार राम्रो बलिङ गर्दै नेपाललाई दबाबमा राखेका छन् ।
यसअघि आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेटस् )युएई) विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । 
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको टसमा  नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । आजको खेलमा करण केसी र ज्ञानेन्द्र मल्ललाई बेन्चमा राखिएको छ । उनीहरूको स्थानमा ललितनारायण राजवंशी र गुलशन झा समावेश छन् ।
नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, गुलशन झा, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, ललितनारायण राजवंशी र सोमपाल कामी छन् ।
घरेलु मैदानमा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो । नेपाल आजको खेलमा पनि जित हासिल गर्न चाहन्छ । यता युएई पहिलो खेलमा पपुवा न्यूगिनीसँग पराजित भएको थियो । युएई पनि पहिलो जितको खोजीमा रहेको छ ।
 सात राष्ट्र सम्मिलित विश्वकप लिग–२ मा नेपाल अङ्कतालिकाको पाँचौँ स्थानमा रहेको छ भने युएई छैटौं स्थानमा छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार