सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । यो जितसँगै शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ । सोझै ओडिआई मान्यता निरन्तरता गर्ने सम्भावना मजबुत बनाएको छ । जितको लागि २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २ सय ५४ रनमा अल आउट भयो । पिएनजीका नर्मन भानुवा ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनमा रन आउट भए । दुई रन लिने धुनमा अन्तिम विकेटको रुपमा रन आउट भएका थिए । पपुवा न्युगिनीले नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि ओपनर टोनी उरा र किप्लिङ डोरिगाले ११.२ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । डोरिगा सिंगल रन लिनेक्रममा दीपेन्द्रको थ्रोमा विकेटकिपर आसिफ शेखबाट रन आउट भए । त्यसपछि भने नेपालले खेलमा सानदार पूनरागमन गरेको थियो । ओपनर किप्लिङ डोरिगा ३४ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा रन आउट भए । ओपनर टोनी ४४ बलमा ९ चौकासहित ५० रनमा क्याच आउट भए । उरा स्पिनर सन्दीप लामिछानेको १५ औं ओभरको तेस्रो बलमा आरिफ शेखबाट क्याच आउट भएका थिए । दीपेन्द्रसिंह ऐरीको १४ औं ओभरको तेस्रो बलमा सेसे बाउ ३ रनमा सोमपाल कामीबाट स्क्वायर लेगमा क्याच आउट भए । दीपेन्द्रले चाल्र्स अमिनीलाई १४ बलमा बोल्ड आउट गरे । सन्दीपले ३३ औं ओभरको दोस्रो बलमा हिरि हिरिलाई ८ रनमा बोल्ड आउट गरे । लगत्तै अर्को बलमा चाद सोफर फस्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएपछि सन्दीप ह्याट्रिक नजिक पुगेका थिए । ह्याट्रिक बलमा नर्मन भानुवालाई आउट गर्न भने सकेनन् । कुशल मल्लले कप्तान असद भालालाई ४२ रनमा आरिफ शेखबाट क्याच आउट गराए । उनले ५३ बलमा २ चौका र २ छक्का प्रहार गरे । सन्दीपको बलमा ठूलो सट खेल्न अघि बढेका राइली हेकुरे २० रनमा स्टम्पिङ आउट भए । नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९।१ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।कुशल मल्लले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिए त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९.१ ओभरमा २ सय ९७ रनमा अल आउट भएको थियो । नेपालले यो आफ्नो ओडिआई इतिहासमा बनाएको सर्वाधिक उच्च योगफल थियो । नेपालको ओडिआईमा उच्च योगफल यसअघि २ सय ८७ रन थियो । नामिबियाविरुद्ध दुई साताअघि नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २ सय ८७ रन बनाएको थियो । नेपालले ओडिआईमा यसअघि पहिला ब्याटिङ गर्दा टियु मैदानमै गतवर्ष पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा २ सय ७८ रन बनाएको थियो । नेपालको जितमा ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका थिए । आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक थियो । आसिफले १ सय १ बलमा १० चौका र २ छक्कासहित शतक पूरा गरेका थिए । आसिफ नेपालबाट पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलपछि ओडिआईमा शतक हान्ने नेपालका पाँचौं खेलाडी हुन् । कुशलपछि दोस्रो नेपाली ओपनर हुन् । आसिफ ३८ औं ओभरको चौथो बलमा सेमो कमियाको बलमा मिडअफबाट राइली हेकुरेबाट क्याच आउट भए । शतक बनाउनु अघि आसिफले दुई महत्वपूर्ण जीवनदान पाएका थिए । तेस्रो ओभरको चौथो बलमै आसिफले ब्यक्तिगत पाँच रनमा जीवनदान पाएका थिए । चोभार एण्डबाट आएका तीव्र गतिका बलर सेमो कमियाको बलमा एज लागेपनि फस्ट स्लिपमा सेसे बाउले क्याच ड्रप गर्न पुगेपछि आसिफले सुरुवातमै जीवनदान पाएका थिए । आसिफले नवौं ओभरको पाँचौं बलमा पुनः ब्यक्तिगत २२ रनमा जीवनदान पाए । पपुवा न्युगिनीका फिल्डरले पुन क्याच छाड्न पुगेका थिए । त्यस्तै आसिफले ओडिआई करिअरको एक हजार रन पनि पूरा गरेका छन् । उनी रोहितपछि ओडिआईमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी हुन् । ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौकासहित ४५ रनमा क्याच आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १८।४ ओभरमा १ सय १० रनको शतकीय साझेदारीका साथ सानदार सुरुवात दिलाएका थिए । हेकुरेकै बलमा ठूलो सट खेलेका कुशल मल्ल दुई रनमा क्याच आउट भए । ज्ञानेन्द्र मल्ल पनि हेकुरेको बलमा असद भालाबाट ११ रनमा क्याच आउट भए । चौथो विकेटका लागि रोहित पौडेल र आसिफ शेखले ६७ रनको साझेदारी गरेका थिए । रोहित ठूलो सट खेल्ने धुनमा ३९ बलमा २ चौका र १ छक्कासहित ३० रनमा क्याच आउट भए । दीपेन्द्रसिंह ऐरी ७ रनमा रन आउट भए । सन्दीप लामिछाने ७ रनमा आउट भए । आरिफ शेख १५ रनमा आउट भए । भीम सार्की ३८ बलमा ४ चौकासहित ४४ रनमा आउट भए । पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमो कमियाले ९।१ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिएपनि टोलीको हार भने टार्न सकेनन् । राइली हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । नेपालले अव आइतबार युएई, सोमबार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ । नेपाल शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । एक खेल हारेको खण्डमा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । ओडिआई मान्यता सोझै जोगाउन नेपालले अव तीन मध्य एक खेल जित्नुपर्ने हुन्छ ।
अंक तालिका स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३३ खेलमा ४ मा जित र २८ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ।