आजदेखि आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज

नेपाललाई सिधै विश्वकप छनोट खेल्ने अवसर

बिहीबार, फागुन २५, २०७९
Global Ime Bank

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल बिहान ९ः३० मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ । आजदेखि नेपाल, युएई र पपुवा न्युगिनीबीच सुरु हुने अन्तिम लिग(२ को त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको लक्ष्य सिधै विश्वकप छनोट हुनेछ ।
नेपालले पपुवा न्युगिनी र युएईलाई दुई दुई खेल हराएमा आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सिधै खेल्न पाउनेछ । नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । लिग(२ का शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाउँछन् ।
स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका छन् ।अव नेपाल, नामिबिया र युएई मध्य एक टोली पुग्नेछन् । नामिबियाले ३६ खेलमा ३९ अंकमा लिग २ सकाएको छ । नेपाल र युएईले नामिबियालाई पछि पार्नुपर्ने हुन्छ । नेपालले सबै खेल जितेको खण्डमा ४० अंक हुनेछ । ४० अंक हुँदा नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ । नेपाल एक खेलमा पराजित भएमा भने प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ ।
यदि शीर्ष तीनमा पर्न नसके नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने ६ देश सम्मिलित प्लेअफ क्वालिफायरमा शीर्ष दुईमा स्थान बनाउनु पर्ने हुन्छ । प्लेअफ क्वालिफायर शीर्ष दुईमा पर्न नसके भने नेपालको विश्वकप छनोट खेल्ने सम्भावना भने समाप्त हुनेछ । नेपालको मनोबल उच्च छ ।
नेपालले दुई साता अघि एसोसियट बलिया टोली स्कटल्यान्ड र नामिबियालाई समान दुवै खेलमा हराएको थियो । युएई भ्रमणमा चार मध्ये तीन खेल जितेको थियो । नेपाललाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन दुई जित आवश्यक पर्दछ । नेपालको पहिलो लक्ष्य ओडिआई मान्यता हुनेछ । त्यसपछि नेपालको लक्ष्य सोझै विश्वकप छनोट हुनेछ ।
प्रशिक्षकमा मोन्टी देशाईको आगमनपछि नेपाली टोली फेरिएको छ । प्रदर्शन र मनोबल दुवैमा मजबुत देखिएको छ । पछिल्ला ८ मध्ये ७ खेल जितेको छ । नेपाल घरेलु मैदान, कन्डिसन र समर्थकको फाइदा उठाउँदै सानदार जित हात पार्न चाहन्छ । घरेलु कन्डिसमा कुनै पनि टोली अतिरिक्त बलियो हुने गर्दछ ।
यता युएईलाई ओडिआई मान्यता जोगाउन चार मध्ये तीन खेल जित्नुपर्ने हुन्छ । ३१ अंक भएको युएई बाँकी सबै खेलमा फराकिलो अन्तरले विजयी भएमा मात्रै शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न सक्छ ।
पपुवा न्युगिनी ९ अंकका साथ पुछारका छ । पपुवा न्युगिनी बाँकी सबै खेल जिते पनि पुछारमै रहनेछ । पपुवा न्युगिनी क्वालिफायर प्लेअफ अघि राम्रो तयारी चाहन्छ ।
पिएनजीले यसै साता युएईलाई उसकै घरेलु भूमिका दुवै खेल जितेको थियो । गतवर्ष नेपाललाई दुई खेलको ओडिआई सिरिजमा दुवै खेलमा हराएको थियो । पिएनजी बिना दबाब आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । नेपाल र युएई दुवैलाई घातक बन्नसक्छ ।
नेपालले स्कटल्यान्ड र नामिबियाविरुद्ध घरेलु मैदानमा तीन खेलमा लगातार २ सय ७० माथिको योगफल पूरा गरेको थियो । टियु ब्याटिङ सहयोगी पिच हुँदा बलरले ध्यान दिनुपर्ने हुन्छ । विशेषगरी नेपालका तीव्र गतिका बलरले पावर प्ले र डेथ ओभरमा कम रन खर्चिनु पर्ने हुन्छ । नेपालले तीन तीव्र गतिका बलरमा सोमपाल कामी, प्रतिश जि.सी र करण केसीलाई खेलाउने सम्भावना छ ।
स्पिनरमा सन्दीप लामिछाने हुनेछन् । सन्दीपले नामिबिया र स्कटल्यान्डविरुद्ध ४ खेलमा १३ विकेट लिएका थिए । सन्दीपले तल्लोक्रममा युएई भ्रमणमा राम्रो ब्याटिङको सम्भावना देखाएका थिए । सन्दीपलाई स्पिन आक्रामणमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले साथ दिनेछन् ।
नेपालको ब्याटिङमा कप्तान रोहित पौडेल, आसिफ शेख र कुशल मल्लको प्रदर्शन महत्वपूर्ण हुनेछ । अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबाट घरेलु मैदानमा नेपाल अपेक्षा अनुसार उच्च प्रदर्शनको पर्खाईमा हुनेछ । आरिफ शेखले तल्लोक्रममा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

के भन्छन् कप्तान रोहित
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ आफूहरु खेल्ने बताएका छन् ।
पछिल्लो पटक भ्रमण गरेका देशसँग पुनः घरेलु मैदानमा खेल्दा टोलीलाई दर्शकको साथ हुने र थप बलिङ र ब्याटिङ पक्ष सबै थाहा हुने भएकाले खेल्न सहज हुने उनको धारणा छ ।
घरेलु मैदान भएकाले पनि नेपाली टोलीका लागि थप सहज हुने उनको तर्क थियो ।  शीर्ष तीनमा अटाउन गरिएको योजना अनुसार श्रृंखलाका खेलहरु भइरहेको र अन्तिम श्रृंखलामा पनि अपेक्षाअनुसारको नतिजा आउने कप्तान रोहितले बताए ।
कप्तान रोहितले युएई भ्रमणमा ब्याटिङ पक्षमा केही कठिन भएको तर कीर्तिपुर मैदानको अवस्थामा सबै खेलाडी अभ्यस्त भएकाले राम्रो खेल हुने विश्वास व्यक्त गरेका छन् । उनले कुशल भुर्तेल चोटमुक्त हुँदै खेलमा फर्किने समेत जानकारी दिए ।
प्रशिक्षक मोन्टी देशाई आजदेखि हुने चार खेल आफूकेन्द्रित रहेको र सबै खेल कठिन भएको बताउँछन्।
युएई र पीएनजी दुवै टोली बलियो प्रतिद्वन्द्वी भएको र लिगको अन्तिम श्रृंखला भएकाले खेलहरु प्रतिष्पर्धात्मक हुने अपेक्षा उनको छ ।
श्रृंखलामा सहभागि हुन नेपाल भ्रमण गरेका टोलीद्वय युएई र पीएनजीले पनि सुखद् नतिजाका लागि घरेलु टोलीसँग प्रतिष्पर्धा गर्ने उनको बुझाइ छ ।
युएई टोलीका खेलाडी सदस्य भृत्य अरविन्दले नेपालमा हुन लागेको श्रृंखला नयाँ श्रृंखला भएको र एक दिवसीय मान्यताका लागि मेहनत गर्ने बताए । उनले घरेलु दर्शकको अगाडि खेल्न आफ्नो टोली आतुर रहेको समेत बताए ।
विश्वकप क्रिकेट लिग–२ को पुछारमा रहेको टोली पिएनजीका कप्तान अशद भालाले पछिल्ला खेलमा भएका कमीकमजोरीलाई सुधार गर्दै आफूहरु खेल्ने बताउँदै अन्तिम श्रृंखलामा सुखद् नतिजा निकाल्ने बताए ।
श्रृंखला फागुन २५ देखि चैत २ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी. ।के

अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा झरेको छ । पपुवा न्युगिनी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ०३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार