आरिफले दिलाए नेपाललाई तेस्रो सफलता

सोमबार, फागुन २२, २०७९
Global Ime Bank

काठमाडौं । अलराउन्डर आरिफ शेखले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।
जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको युएईले ३० ओभरमा ३ विकेट गुमाउँदै १ सय २२ रन बनाएको छ । युएईका आसिफ खान ७७ बलमा २ छक्का र १ चौकासहित ५० रनमा अविजित छन् । उनलाई सिपी रिजवानले साथ दिनेछन् ।
आरिफले ३० औं ओभरको अन्तिम बलमा युएईका प्रमुख ब्याटर वृत्य अरविन्दलाई १३ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । पहिलो ओभरको दोस्रो बलमै कप्तानलाई गुमाएपनि दोस्रो विकेटका लागि आर्यन लाक्रा र आसिफ खानले ९४ रनको साझेदारी गर्दै राम्रो पूनरागमन गराएका थिए ।
दीपेन्द्रसिंह ऐरीले लाक्रालाई ५० रनमा एलबीडब्लू आउट गरे । उनले ७८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै युएईका प्रमुख ब्याटर तथा कप्तान मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरेका थिए । वासिम एज लागेर बोल्ड हुन पुगेका थिए ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियोा । नेपालका पाँचौं नम्बरका ब्याटर भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको योगदान दिए ।
भीमको यो अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन हो । आरिफ शेख ५६ बलमा २ चौका र १ छक्कासहित ४३ रनमा अविजित रहे । युएईका जुनैद सिद्दिकले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार