नेपालले दियो घरेलु टोली युएईलाई २३० रनको मध्यम लक्ष्य

भीमको उत्कृष्ट ब्याटिङ, नेपालका ब्याट्सम्यान चल्न सकेनन्
सोमबार, फागुन २२, २०७९
Global Ime Bank

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईलाई नेपालले २३० रनको मध्यमस्तरको लक्ष दिएको छ । नेपालका  ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन नसक्दा बलरहरुको भरमा यो मध्यम स्तरको लक्ष्य दिएको हो ।
युवा ब्याटर भीम सार्कीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईलाई २ सय ३० रनको लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनायो । नेपालका पाँचौं नम्बरका ब्याटर भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको योगदान दिए । भीमको यो अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन हो ।
आरिफ शेख ५६ बलमा २ चौका र १ छक्कासहित ४३ रनमा अविजित रहे । प्रतिश जि.सी ६ बलमा १ चौकासहित ११ रनमा अविजित रहे ।
भीमले जहुर खानलाई थर्डम्यानमा चौका हान्दै ७८ बलमा सिनियर टोलीको लागि पहिलो अर्धशतक प्रहार गरेका थिए । भीम ४५ औं ओभरको तेस्रो बलमा रोहन मुस्तफाबाट बोल्ड आउट हुन पुगे । एक समय ६८ (५ को दयनीय अवस्थामा पुगेको नेपाललाई भीमले अर्धशतकका साथ खेलमा पुनरागमन गराएका थिए ।
नेपाललाई खेलमा फर्काउन सन्दीप लामिछाने र भीम सार्कीले छैटौं विकेटका ५६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सन्दीप ४० बलमा १ चौकासहित २७ रनमा आउट भए । तीव्र गतिका बलर जुनैद सिद्दिकको पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेख सट लेगमा आयन खानले उत्कृष्ट क्याच लिएपछि ६ रनमा पेभेलिएन फर्केका थिए ।
ज्ञानेन्द्र मल्ल जुनैदको नवौं ओभरको अन्तिम बलमा ११ रनमा एलबीडब्लू आउट भए । २६ बल खेलेका ज्ञानेन्द्रले २ चौका प्रहार गरे । कप्तान रोहित पौडेल स्पिनर आयन लर्कानको १२ औं ओभरको दोस्रो बलमा एक रनमा बोल्ड भएपछि नेपाल समस्यामा परेको थियो ।
रोहन मुस्तफाले १५ औं ओभरको पहिलो बलमा कुशल मल्ललाई ३२ रनमा बोल्ड आउट गरे । ठूलो सट खेलेका कुशललाई मुस्तफाले अनुभवको फाइदा उठाउँदै स्वलो बलमा बोल्ड गरेका थिए । कुशलले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
लर्कानको १८ औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरी एलबीडब्लू आउट भएपछि नेपाल ६८/५ को अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि आरिफ र भीम सार्कीले ५६ रनको साझेदारी गरेका थिए । करण केसी ११ बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए ।
युएईका जुनैद सिद्दिकले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए । रोहन मुस्तफाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर २ विकेट लिए । अर्यान लर्कानले ८ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । कार्तिक मयाप्पनको नाममा एक विकेट रह्यो ।

 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार