पपुवा न्युगिनी ४९.२ ओभरमा १७९ रन बनाउँदै अल आउट

नेपालीको कसिलाे बलिङ सामु पपुवा न्युगिनीको मध्यम स्तरकाे ब्याटिङ

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं । पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई १ सय ८० रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनी ४९.२ ओभरमा १ सय ७९ रनमा अल आउट भयो ।
पपुवा न्युगिनीका ओपनर टोनी उराले ५१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । पपुवा न्युगिनीले नेपालविरुद्ध राम्रो सुरुवात गरेको थियो । तर त्यो सुरुवातलाई धेरै समय निरन्तरता दिन सकेन ।
ओपनर टोनी उरा र किप्लिङ डोरिगाले १०।३ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । सन्दीप लामिछानेले ओपनर किप्लिङ डोरिगालाई ४३ बलमा ३ चौकासहित २६ रनमा एलबीडब्लू आउट गरे । पावर प्लेपछि आएका सन्दीपले आफ्नो स्पेलको तेस्रो बलमै विकेट लिन पुगेका थिए ।
बायाँ हाते स्पिनर कुशल मल्लको १९ औं ओभरको तेस्रो बलमा सेसे बाउ ११ रनमा रन आउट भए । राम्रो लयमा देखिएका बाउ विकेटकिपर आसिफ शेखबाट रन आउट भएका थिए । तीव्र गतिका बलर सोमपाल कामीको बलमा टोनी उरा कट एण्ड बोल्ड आउट हुन पुगे ।
उराले स्टेटतर्फ खेलेको सट सोमपालले उत्कृष्ट क्याच लिँदै नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए । उरा आउट हुँदा पिएनजी ८७(३ को अवस्थामा थियो । त्यसपछि लगातार विकेट गुमाउन पुग्यो । २३ औं ओभरको अन्तिम बलमा कुशल मल्लले भालालाई ११ रनमा एलीबडब्लू आउट गरे । भालाको विकेटपछि नेपाल खेलमा हाबी बन्यो ।
दीपेन्द्रले बायाँ हाते ब्याटर गौडी टोकालाई ३६ औं ओभरको अन्तिम बलमा १५ रनमा बोल्ड आउट गर्दै नेपाललाई पाँचौं सफलता दिलाए । त्यसअघि चाद सोफर ९ रनमा रन आउट भए । दीपेन्द्रको बलमा ठूलो सट खेलेका हिरि हिरि डिपमिडविकेटमा ज्ञानेन्द्र मल्लबाट ३१ रनमा क्याच आउट भए । हिरिले ६३ बलमा २ चौका र १ छक्का प्रहार गरे । करणले नर्मन भानुवालाई १५ रनमा बोल्ड गरे ।
नेपालका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा १ मेडनसहित १० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछाने र करण केसीले एक एक विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार