सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं । स्पिनर सन्दीप लामिछानेले नेपाल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपाललाई पहिलो सफलता दिलाएका छन् ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले १७ ओभरमा १ विकेट गुमाउँदै ६७ रन बनाएको छ । 
ओपनर किप्लिङ डोरिगाले ४३ बलमा ३ चौकासहित २६ रनमा एलबीडब्लू आउट भएका छन् । सन्दीपको बलमा उनी एलीबडब्लू आउट भएका छन् । पहिलो पावर प्लेमा विकेटविहीन बनेको नेपाललाई सन्दीपले आफ्नो स्पेलको तेस्रो बलमै विकेट लिँदै पहिलो सफलता दिलाएका हुन् ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर गुलशन झाको स्थानमा नेपालले आज भीम सार्कीलाई मौका दिएको छ । टोलीमा अन्य भने परिवर्तन गरेको छैन । युएईविरुद्ध कमजोर ब्याटिङपछि नेपालले भीम सार्कीलाई मौका दिएको हो । गुलशनले युएईविरुद्ध २ ओभरमा १५ रन खर्चेका थिए ।

नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ । नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सोझै प्राप्त गर्न नेपालले चार जित आवश्यक छ ।
नेपाल बिहीबार घरेलु टोली युएईसँग ६८ रनले पराजित भएको थियो । २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १ सय ३९ रनमा अल आउट भएको थियो ।

नेपालको प्लेइङ ११:

रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, आरिफ शेख ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार