आईसीसी लिग–२मा आज नेपाल र पपुवा न्युगिनी भिड्दै

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ । दुबईको इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेल बिहान पौने १२ बजे सुरु हुनेछ। बिहीबार युएईसँग ६८ रनले पराजित भएपछि लगातार पाँच खेलको जित शृखंलामा ब्रेक लागेको नेपाल पपुवा न्युगिनीविरुद्धको खेलमा पुनरागमन गर्दै जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ । नेपालले शृखंलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा ब्याटिङ नचल्दा नेपाल युएईविरुद्ध २०७ रनको लक्ष्य पछ्याउँदा १३९ रनमै अलआउट भएको थियो । पपुवा न्युगिनीले भने नेपालसँग हारेपछि युएईलाई पराजित गरेको थियो । लिग टुमा नेपाल पपुवा न्युगिनीसँग अपराजित छ । यसअघिको लिग टुको तीनवटै खेल नेपालले जितेको थियो । समग्रमा नेपाल र पपुवा न्युगिनीबीच ७ ओडिआई खेल भएको छ । जसमा नेपालले ५ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ।
लिग टुको शीर्ष ३ मा रहँदा विश्वकप छनोटमा पुग्न नेपालले अब बाँकी ६ वटै खेल जित्नुपर्नेछ । त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण छ । नेपालले आजको खेल हारे शीर्ष तीनको सम्भावना सकिनेछ । लिग टुमा सबै ३६ खेल खेलिसकेको नामिबिया ३९ अंकसहित तेस्रोमा छ। ३० खेलबाट २८ अंकसहित नेपाल छैटौं स्थानमा छ । नेपालले पाँचौ स्थानमा रहेर ओडिआई मान्यता जोगाउन पनि अब बाँकी रहेको ६ मध्ये ४ खेल जित्नुपर्नेछ । नेपालले युएई शृखंलाको अन्तिम खेल सोमबार घरेलु टोली युएईसँग खेल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १०:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार