नेपालको फितलो ब्याटिङका कारण युएई विजयी 

बिहीबार, फागुन १८, २०७९

काठमाडौं । ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको दोस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग पराजित भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा २०८ रनको लक्ष्य पछ्याएको नेपालले ३१.५  ओभरमा सबै विकेट गुमाएर १३९ अलआउट भयो ।
युएईलाई जिताउन रोहन मुस्ताफाले अलराउण्ड प्रदर्शन गरे । ब्याटिङमा संयमित हुँदै अविजित ५२ रन बनाएका उनले बलिङमा ३ विकेट लिए । युएईसँग पराजित भएपछि लिग टु को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना कठिन बनेको छ । अब नेपालले शीर्ष तीनमा पर्न बाँकी रहेको ६ वटै खेल जित्नुपर्नेछ । घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया सम्मिलित शृंखला क्लिन स्वीप गरेर युएई पुगेको नेपालले त्यहाँ पहिलो खेलमा पपुवा न्यू गिनीलाई पनि हराएर लगातार पाँच खेल जितेर कीर्तिमान बनाएको थियो ।
नेपालले यसअघिका पाँचै खेलमा टस जितेर पहिले बलिङ गर्दै लक्ष्य पछ्याएर जित निकालेको थियो । आजको खेलमा पनि नेपालले टस जितेर बलिङ नै गरेको थियो ।
विपक्षीलाई २०७ रनमै रोके पनि नेपालले लक्ष्य पछ्याउने क्रममा ब्याटिङको लयलाई कायम राख्न सकेन । कुशल मल्लको ६० रनबाहेक बिहीबार नेपालको ब्याटिङ निराशाजनक नै रह्यो । कुशल बाहेक सन्दीप लामिछानेले (२६)  र आसिफ शेखले मात्र दोहोरो स्कोर (१७) गरे ।
लिग टु मा नेपालले युएईलाई पराजित गर्न सकेको छैन । लिग टु को तीन खेलमै नेपाल युएईसँग पराजित भएको छ । गत नोभेम्बरमा नेपालमै भएको ओडिआई शृखंलामा नेपालले युएईलाई २–१ ले जितेको थियो । तर त्यो प्रदर्शन युएई विरुद्ध दोहोर्‍याउन सकेन ।
नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । कुशलले ५३ बल खेल्दै ९ चौका र १ छक्का मद्दतमा सर्वाधिक ६० रन बनाए । ११औं नम्बरमा ब्याटिङ गरेका सन्दीप लामिछानेले २४ बल खेल्दा  ४ चौकाको मद्दतमा अविजित २६ रन बनाए । ओपनर आसिफ शेखले १७ रन जोडे । तीन खेलाडी खाता नखोली आउट भएको नेपाली इनिङ्समा बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र आरिफ शेख शुन्यमै आउट भए । ओपनर कुशल भुर्तेल ५ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी ७, गुल्शन झा र सोमपाल कामी समान ४ रनमा आउट भए ।
नेपाललाई अलआउट गर्न युएईका अलराउण्डर रोहन मुस्ताफाले १० ओभरमा २ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिए । यस्तै अर्को स्पिनर कार्तिक मेइयाप्पन ८.५ ओभरमा १ मेडन राख्दै २६ रन खर्चेर ३ विकेट लिए । फास्ट बलर जुनैद सिद्दिकीले २ तथा सबिर अली र जहुर खानले समान १ विकेट लिए ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले ५० ओभरमा ८  विकेट गुमाएर २०७ रन बनाएको थियो ।
ओपनर आसिफ खान र रोहन मुस्ताफाको अर्धशतक मद्दतमा युएईले २०० रनको स्कोर पार गरेको थियो । युएईका लागि आसिफ खानले सर्वाधिक ७२ रन बनाए । रोहन मुस्ताफाले अविजित ५२ रन बनाए ।
पहिलो ओभरमै ओपनर मुहम्मद वासिमलाई नेपालका करण केसीले बोल्ड गरेपछि आसिफ खानले एक छेउबाट इनिङ्सम सम्हालेका थिए । उनले दोस्रो विकेटका लागि भृत्य अरविन्दसँग ४६ रनको साझेदारी गरे । अरभिन्दले १८ रन जोडे ।
नेपालका सन्दीप लामिछाने अरभिन्दलाई कुशल भुर्तेलबाट क्याचआउट गराए । सन्दीप श्याम ढकालको स्थानमा नेपाली टिममा समावेश भएका थिए । उनी अघिल्लो खेलमा पपुवा न्यूगिनी विरुद्ध डेब्यु गरेका प्रतिश जिसीको स्थानमा प्लेइङ सेटमा खेलेका थिए ।
यस्तै आसिफ खानले तेस्रो विकेटका लागि कप्तान सिपी रिजवानसँग  ४३ रनको साझेदारी गरे । २२ रन बनाएका कप्तान रिजवानलाई कुशल मल्लले दीपेन्द्र ऐरिबाट क्याचआउट गराए ।
आसिफले ३७औं ओभरमा आउट हुनुअघि रोहन मुस्ताफासँग चौथो विकेटका लागि ५० रनको साझेदारी गरे ।
आसिफ खानले ९९ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । उनलाई सन्दीपले करण केसीबाट क्याचआउट गराए ।
त्यसपछि क्रसमा आएका आलिसान शाराफुलाई आसिफ शेखले बोल्ड गरे ।
मुस्ताफा र आर्यल लाक्राले छैटौं विकेटका लागि ५८ रनको साझेदारी गर्दै युएईको स्कोर २०० पुर्‍याएका थिए । सन्दीपले ४९औं ओभरमा लाक्रालाई बोल्ड गर्दै साझेदारी तोडेका थिए । लाक्राले २८ रन बनाए ।
मुस्ताफाले अन्तिमसम्म खेल्दै ७५ बल खेल्दै २ चौका मद्दतमा ५२ रन बनाए । अन्तिम ओभरमा युएईका दुई खेलाडी रनआउट भए ।
नेपालका लागि सन्दीपले १० ओभर बलिङ गर्दै २७ रन  खर्चेर ३  विकेट लिए ।
आरिफ शेखले ९ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । कुशल मल्लले ५ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । यस्तै कर केसीले ७ ओभरमा १ मेडन राख्दै ४३ रन खर्चेर १ विकेट लिए ।
दीपेन्द्र सिंह ऐरीले विकेट नलिएपनि १० ओभर बलिङ गर्दै १ मेडन राखेर ३५ रन मात्र खर्चिए । सोमपाल कामीले ७ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चिए भने विकेट लिन सकेनन् ।
अघिल्लो खेलमा उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका गुल्शन झाले भने २ ओभर बलिङ गर्दै १५ रन खर्चिए भने विकेट लिन सकेनन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार