त्रिकोणात्मक क्रिकेट लिगमा खेल्न सन्दीप आजै यूएई जाने

खेलाडीको सूचीमा नाम समावेश
बुधबार, फागुन १७, २०७९
Global Ime Bank

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई आजै यूएई पठाउने तयारी गरेको छ । सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएसँगै उनलाई विदेश पठाउनका लागि क्यानले मंगलबार देखि नै तयारी सुरु गरेको थियो ।
सन्दीपलाई आज बुधबार राति नै विदेश पठाउने तयारीमा क्यान लागि परेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिएका छन् । ईसीसीसँग खेलाडी परिवर्तनका लागि पत्रचार गरिसकेकाले अनुमति आउन साथ उनलाई टोलीमा समावेश गरिनेछ ।
क्यानले यसअघि नै आइसीसी विश्वकप लिग २ का लागि अन्य खेलाडीसँगै सन्दीपको नाम दर्ता गराइसकेको थियो। क्यानले अहिले खेलाडी परिवर्तनका लागि प्रक्रिया गरिरहेको छ । कुन खेलाडीलाई नेपाल फिर्ता पठाउने भन्ने विषयमा भने अहिलेसम्म निर्णय भइसकेको छैन । नेपाली राष्ट्रिय क्रिकेट टोली आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजका लागि युएई भ्रमणमा छ । नेपालले बिहिबार घरेलु टोली युएईसँग खेल्ने तालिका छ ।
सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई ४ विकेटले पराजित गरेको थियो। नेपालको यो लिग २ अन्तर्गत अन्तिम विदेश भ्रमण हो। यो सिरिजपछि नेपालले घरेलु मैदानमा नै त्रिकोणात्मक सिरिज खेल्दै लिग २ को यात्रा सकाउनेछ । क्यानले लामिछानेको नाम खेलाडीको सुचीमा राखिसकेको छ।
टिमका एक खेलाडी बिरामी भए पछि उनको नाम हटाएर लामिछानेको नाम राखिएको क्यानले जनाएको छ। तर, कसको नाम हटाएको हो ? त्यो भने खुलाएको छैन ।
त्रिकोणात्मक सिरिज लिगमा युएई र पपुना न्युगिनीलाई हराएर अपराजित हुँदै आएको नेपाल लामिछानेको आगमनसँग बलियो हुने अपेक्षा गरिएको छ । जारी खेलमा जीत हासिल गरेमा श्रीलंकामा हुने विश्वकप खेल्न नेपाली टोली पुग्नेछ ।
 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार