ओडिआई इतिहासमा पहिलो पटक नेपालको लगातार पाँच खेलमा जित

पपुवा न्युगिनीलाई हराउँदै नेपालको लगातार पाँचौं जित

सोमबार, फागुन १५, २०७९

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई चार विकेटले हराउँदै लगातार पाँचौं जित निकालेको छ । नेपालले अघिल्लो साता घरेलु मैदान टियुमा स्कटल्यान्ड र नामिबियालाई चारै खेलमा हराएको थियो । नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक लगातार पाँच खेल जितेको छ । योसँगै नेपालको शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता पाउने सम्भावना पनि मजबुत बन्दै गएको छ । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । 
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ६९ बलमा ५ चौकासहित सर्वाधिक ५६ रनको योगदान दिए । नेपाललाई ओपनर आसिफ शेख र कुशलले पहिलो विकेटका लागि १४.५ ओभरमा ७६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
ओपनर आसिफ शेख ३९ बलमा ५ चौकासहित ४४ रनमा आउट भए । कुशल भुर्तेलसँग तालमेल नमिल्दा आसिफ रन आउट हुन पुगेका थिए । ज्ञानेन्द्र मल्ल नर्मन भानुआको १७ औं ओभरको अन्तिम बलमा १० बल खेल्दै चार रनमा बोल्ड आउट भएका थिए । भालाले कप्तान रोहित पौडेललाई २० रनमा नर्मन भानुवाबाट क्याच गराए । ब्यक्तिगत ४ रनमा जीवनदान पाएका आरिफ शेखले ५९ बलमा १ चौकासहित ३० रन जोडे । ४३ बल खेलेका दीपेन्द्र सेसे बाउको बलमा बोल्ड आउट भएका थिए । कुशल मल्ल १४ बलमा १ चौकासहित १२ र सोमपाल कामी ५ रनमा अविजित रहे ।
पपुवा न्युगिनीका कप्तान असाद भालाले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । नर्मन भानुवा र सेसे बाउले एक एक विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । पपुवा न्युगिनीका मध्यक्रमका ब्याटर चाद सोपरले ५३ बलमा २ चौकासहित ३६ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त रहेन। नर्मन भानुआले १५ बलमा २ चौका र २ छक्कासहित २५ रन जोड्दै आउट भए ।
नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । सोमपालले पाँचौं ओभरको पहिलो बलमा पपुवा न्युगिनीका आक्रामक ब्याटर टोनी उरालाई २ रनमा बोल्ड आउट गर्दै सोमपालले पहिलो सफलता दिलाएका थिए ।
दोस्रो विकेटका लागि किप्लिङ डोरिगा र सेसे बाउले ५० रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए । तीव्र गतिका बलर गुलशन झाको १६ औं ओभरको अन्तिम बलमा डोरिगा टप एज लागेर मिडअनमा करण केसीबाट क्याच आउट भए । उनले ५२ बलमा ४ चौका प्रहार गरेका थिए ।
गुलशनले २४ औं ओभरको दोस्रो बलमा सेसे बाउलाई ३१ रनमा बोल्ड गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए । ५५ बल खेलेका बाउले ३ चौका प्रहार गरे । गुलशनले पपुवा न्युगिनीका प्रमुख ब्याटर चाल्र्स अमिनीलाई ६ रनमा क्याच गराएपछि दबाबमा परेको थियो ।
डेब्यू खेल खेलेका प्रतिश जि।सीले ३४ औं ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीबाट हिरि हिरिलाई १० रनमा क्याच गराउँदै आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय विकेट लिए ।
स्पिनर कुशल मल्लले ३७ औं ओभरको अन्तिम बलमा भालालाई कुशल भुर्तेलबाट उत्कृष्ट क्याच गराउँदै ३६ रनमा पेभेलिएन फर्काए । भालाले ५३ बलमा ४ चौका प्रहार गरे । कुशल भुर्तेलले लामो रनअपका साथ उत्कृष्ट क्याच लिँदै भालालाई पेभेलिएनको बाटो फर्काएपछि ठूलो योगफल टाढिएको थियो ।
कुशल मल्लले सट लेगबाट उत्कृष्ट डाइरेक्ट थ्रोमा राइली हेकुरेलाई ४४ औं ओभरको अन्तिम बलमा ७ रनमा रन आउट गर्दै पेभेलिएन फर्काएका थिए । नेपालका गुलशन झाले ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिएका थिए ।
करण केसीले ९ ओभरमा २ मेडनसहित ३० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ६ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिए । प्रतिश जि।सीले ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । नेपालले अव बिहीबार युएईसँग खेल्नेछ ।

यस्तो छ अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २९ खेलमा २ मा जित र २६ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार