सन्दीपलाई सर्वोच्चले दियो विदेश जाने अनुमति, थुनामै फर्काउनु नपर्ने ठहर

सोमबार, फागुन १५, २०७९

काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएको छ । लामिछानेको मुद्दामा आइतवारदेखि जारी सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामा फर्काउनु नपर्ने ठहरसहित विदेश जाने अनुमति दिएको हो ।
सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन मागसहित दिएको निवेदन र पीडितको पक्षबाट सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राख्न माग गरेको निवेदनमा एकसाथ सुनुवाइ भएको थियो । त्यसपछि न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासबाट सन्दीपलाई राहत दिने गरी आदेश आएको हो ।
सोमबार सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले बहस गरेका थिए । 
सरकारी वकिलको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जवाफी बहस गरेका थिए ।
सन्दीपलाई एकजना किशोरीलाई बलात्कार गरेको अभियोग लागेको थियो । त्यसपछि उनलाई जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।
जिल्लाको उक्त आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए । जहाँ गत पुस २८ गते उच्च अदालतले सन्दीपलाई थुनाबाट रिहा गर्न आदेश दिएको थियो ।
उक्त आदेशपछि उनी पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएर नेपाली राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका थिए । तर त्यसपछि सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं छाड्न पूर्वअनुमति लिनुपर्ने र विदेश जान नपाउने आदेश दिएको थियो ।
त्यसविरुद्ध सन्दीप सर्वोच्च अदालत पुगेका थिए । उनले आफूलाई विदेश जान रोक लगाउने उच्च अदालतको आदेश बदर गर्न माग गरेका थिए ।
सर्वोच्चमा बहस हुँदा नेपाली क्रिकेट टिमका व्यवस्थापक विनोद दास सर्वोच्चको बन्द इजलासमै पुगेर सन्दीपलाई विदेश लैजाँदा आफूले फर्काउने ग्यारेन्टी लिएका थिए । दुई दिन चलेको बहसबीच पीडितको पक्षबाट महान्यायाधिवक्ताको कार्यालले सन्दीपलाई थुनामै फर्काउनुपर्ने मागलाई पनि अस्वीकार गरेको छ । सर्वोच्चले बिहीबार सन्दीप र पीडित पक्ष दुवैको निवेदन एकै ठाउँ पेश गर्न भनेको थियो । त्यसपछि दुवै निवेदन एकै ठाउँ राखेर सुनुवाइ भएको थियो । 
सर्वोच्चको यो आदेशसँगै अब सन्दीप क्रिकेट खेल्न युएई जान पाउने भएका छन् । नेपालले सोमबार त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीसँग खेलिरहेको छ।
पल शाह र सन्दिप लामिछाने नाबालिका बलात्कारको कसुरमा थुनामा बसे । सन्दिप धरौटीमा रिहा भए । क्रिकेट मैदानमा मुलुकका लागि खेलेर इतिहास पनि रचे । तर, पल शाहको धरौटीमा छुट्न चाहने मागलाई अदालतको स्वीकार गरेन । उनलाई हिजो अदालतले दाबी नपुग्ने भन्दै रिहा गर्न आदेश दियो । उनी आज थुना मुक्त भइसकेका छन् । यता, सन्दिप पनि आफूलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिनुपर्ने तथा धरौटी रकम कम गर्नुपर्ने माग लिएर सर्वाेच्च अदालत गए । उनको मागमा आइतबार सोमबार बहस पनि भयो । 
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुनः पक्राउ गर्नु नपर्ने फैसला पनि ग¥यो । यो फैसलासँर्ग सन्दिप विदेशी रंगशालामा क्रिकेट खेल्न जान पाउने छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार