सोमपालले दिलाए नेपाललाई पहिलो सफलता

सोमबार, फागुन १५, २०७९

काठमाडौं । तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप लिग२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपाललाई पहिलो सफलता दिलाएका छन् । दुबई क्रिकेट मैदानमा नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङको निम्तो दिएको छ ।
पपुवा न्युगिनीले ७ ओभरमा १ विकेट गुमाउँदै २० रन बनाएको छ । तीव्र गतिका बलर सोमपाल कामीले पाँचौं ओभरको पहिलो बलमा टोनी उरालाई २ रनमा बोल्ड आउट गरेका छन् । उराले १३ बल खेलेका थिए । क्रिजमा किप्लिङ डोरिगा २१ बल खेल्दै ७ रन बनाएका छन् । उनलाई सेसे बाउले साथ दिइरहेका छन् । 
नेपालले पछिल्लो खेलमा स्कटल्यान्डविरुद्धबाट टोलीमा तीन परिवर्तन गरेको छ । नेपालले आजको खेलमा प्रतिश जि.सीलाई नेपाली क्रिकेट टोलीमा डेब्यू दिएको छ । प्रतिशसँगै, गुलशन झा र आरिफ शेखले आज नेपालको प्लेइङ ११ मा छन् ।
तीव्र गतिका बलर सोमपाल कामीले प्रतिशलाई नेपालको ३७ औं डेब्यू क्याप दिएका हुन् । प्रतिशले तीव्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । नेपाल टि २० लिगमा प्रतिशले पोखरा एभेन्जर्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने प्रतिश बायाँ हाते बलर हुन् । प्रतिशले नेपालको यू १९ र यू १६ टोलीबाट खेलि सकेका छन् ।
आरिफ शेख स्कटल्यान्ड र नामिबियाविरुद्ध खेलमा भने विरामी हुँदा थिएनन् । आरिफले मौका पाउँदा सन्दीप जोरा बेन्चमा छन् । त्यस्तै ललित नारायण राजवंशीको स्थानमा गुलशन झाले स्थान पाएका छन् । लिग २ अन्तर्गत घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलिग त्रिकोणात्मक सिरिजमा कीर्तिमानी क्लीन स्वीप गरेको नेपाली टोली उच्च मनोबलमा मैदान उत्रनेछ। पछिल्ला चार खेलमा अपराजित नेपाल सोही लयलाई निरन्तरता दिने योजनामा छ । शीर्ष तीनमा रहँदै सिधै विश्वकप छनोट खेल्न नेपालले ८ मध्य ७ खेल जित्नैपर्ने हुन्छ । ओडिआइ मानयता जोगाउन शीर्ष पाँचमा रहनका लागि कम्तिमा पाँच खेल जिते पुग्छ । नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकमा छैटौं स्थानमा छ ।  पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित पुछारमा छ ।

नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी. ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार