सन्दीपलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे आज सर्वोच्चमा सुनुवाइ हुँदै

आइतबार, फागुन १४, २०७९
Global Ime Bank

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । ‘क्रिकेट खेल्नका लागि विदेश जान पाउँ’ भनी आरोपित लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गरेपछि सर्वोच्च अदालतको एकल इजलासले आइतबारका लागि पेशी तोक्न आदेश दिएको हो ।
आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ । सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा प्रवेश गरी बहस हुनेछ।
सर्वोच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमती माग्नुपर्ने छैन । लामिछानेमाथि नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप छ । उनी विरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ ।
शुक्रबार नै लामिछाने विरुद्ध महान्यायाधिवक्ता कार्यालयले पेश गरेको निवेदन पेशीमा तोकिएपछि ‘हेर्न नभ्याइने’ कारण सुनुवाइ हुन सकेको थिएन । सर्वोच्च अदालतको एकल इजलासले त्यो निवेदन सहित विदेश जान अनुमती मागिएको निवेदनलाई एक साथ पेश गर्न आदेश दिएको थियो । आइतबार दुई जना न्यायाधीश रहने संयुक्त इजलासमा दुवै निवेदनमाथि सुनुवाइ हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार