क्रिकेट खेल्न युएई जान पाउनुपर्ने माग लिएर सर्वोच्च गए सन्दीप

क्यानले अटाएन सन्दिलाई १५ खेलाडीको सूचीमा 
बिहीबार, फागुन ११, २०७९
Global Ime Bank

काठमाडौँ । क्रिकेट खेल्न युएई जान पाउनुपर्ने मागसहित सन्दीप लामिछाने सर्वोच्च अदालत गएका छन् । वकिल सरोजकृष्ण घिमिरेको साथमा सन्दीपले सर्वोच्च पुगेर बिहीबार निवेदन दिएका हुन् ।  विदेश जान प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीप सर्वोच्च पुगेका हुन् । गत पुस २८ गते उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान प्रतिबन्ध लगाएको थियो ।
नेपालमा हालै भएको लिग डिभिजन टु अन्तर्गतको त्रिदेशीय सिरिजमा उत्कृष्ट पुनरागमनसहित १३ विकेट लिएपछि सन्दीपलाई युएई लैजान क्रिकेट संघले पनि प्रक्रिया अघि बढाएको छ । 
सिरिजकै सर्वाधिक विकेट लिएका सन्दीप लिग २ कै बाँकी ४ खेलका लागि शनिबार जाने टोलीमा परेका छैनन् । अदालतको प्रतिबन्धका कारण टोलीमा नपरेका उनी प्रतिबन्ध फुकुवाको मागसहित सर्वोच्च पुगेका हुन् । 
उनको रिटमा शुक्रबार नै सुनुवाइ हुने सम्भावना छ । सुनुवाइ भएर प्रतिबन्ध फुकुवा भए सन्दीप टोलीसँगै युएई जान पाउनेछन् । 
यसरी रोक लगाएर वैयक्तिक स्वतन्त्रता र हिँडडुलको अधिकार हनन् भएको सन्दीपका कानुनी सल्लाहकार सरोजकृष्ण घिमिरेले बताए । 
यस्तै, सन्दीपले धरौटी रकम बढी भएको भन्दै घटाउन माग गर्ने भएका छन् । उच्च अदालतले उनीसँग २० लाख नगद धरौटी माग गरेको थियो । 
उच्च अदालतले काठमाडौं बाहिर जान अनुमति लिनु पर्ने बताए पनि क्रिकेट खेल्न भने प्रतिबन्ध लगाएको थिएन । क्यानले पनि निलम्बन फुकुवा गरेको थियो । क्यानले उनलाई विदेश लैजान समेत पहल गरिरहेको छ ।  नेपालले युएईमा पपुवान्युगिनी र युएईसँग २–२ खेल खेल्नेछ । आगामी सोमबार पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने तालिका छ । 

युएई जाने नेपाली क्रिकेट टिममा सन्दीप अटाएनन
आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको छ।
कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपको नाम समावेश नगरेको हो । नेपालले लिग टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ । १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछ ।
नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेपछि क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने उनलाई टिममा राखेको थियो । उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार