स्कटल्याण्डमाथि जित हासिल गर्न  २१३ रन आवश्यक 

नेपाललाई स्कटल्यान्डको मध्यम लक्ष्य

मंगलबार, फागुन ९, २०७९
Global Ime Bank

काठमाडौं । स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नेपाललाई २ सय १३ रनको मध्यम लक्ष्य दिएको छ । टयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४६.१ ओभरमा २ सय १२ रनमा अल आउट भयो । स्कटल्यान्डका ओपनर जर्ज मुन्शे ५० बमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६० रनमा आउट भए । मुन्शे बाहेक अन्य कुनैपनि स्कटल्यान्डका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । मुन्शे सन्दीपको बलमा बोल्ड भएका थिए । मुन्शे आउट हुनुअघि स्कटल्यान्ड १३.४ ओभरमा ८९–१ को बलियो अवस्थामा थियो । मुन्शेको विकेटपछि इनिङ धरासयी बनेको थियो । मुन्शे १४ औं ओभरको पाँचौं बलमा सन्दीपलाई लगातार तीन चौका हान्ने क्रममा बोल्ड हुन पुगेका थिए ।
लगत्तै अर्को बलमा कप्तान रिची बेरिंगटनलाई एलबीडब्लू आउट गर्दै शून्यमा पेभेलिएन फर्काउँदै सन्दीप ह्याट्रिक नजिक पुगेका थिए । १६ औं ओभरको पहिलो बलमा म्याथ्यु क्रसले दुई रन लिएपछि सन्दीप ह्याट्रिक गर्नबाट असफल भएका थिए ।
पहिलो विकेटका लागि ओपनर जर्ज मुन्शे र काइल कोट्जरले ७.५ ओभरमा ४२ रनको साझेदारी गरेका थिए । स्पिनर सन्दीप लामिछानेले टियु एण्डबाट बलिङ गर्दै कोट्जरलाई २२ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
सन्दीपको सामना गरेको पहिलो बलमै कोट्जर रिभरस्वीप खेल्ने धुनमा आउट भएका थिए । त्यसअघि लगातार दुई चौका हान्दै एक रन लिएर मुन्शेले स्ट्राइक दिएका थिए । कोट्जरले २३ बलमा ४ चौका हानेका थिए ।
कुशल मल्लले २१ औं ओभरको दोस्रो बलमा क्रिसटोफर म्याकब्राइडलाई २२ रनमा एलबीडब्लू आउट गरे । म्याकब्राइड पनि स्वीप शट खेल्ने चक्करमा आउट भएका थिए । सन्दीपले २२ औं ओभरको तेस्रो बलमा टम म्याकिन्टसलाई एक रनमा सन्दीप जोराबाट क्याच आउट गराए ।
दीपेन्द्रसिंह ऐरीले म्याथ्यु क्रसलाई ४२ रनमा डाइरेक्ट थ्रोमा रन आउट गरे । क्रसले ६३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । छैटौं विकेटका लागि क्रस र ब्रेन्डन म्याकुमेलन ५७ रनको साझेदारी गरेका थिए । माइकल लिस्क करण केसीको बलमा बोल्ड आउट भएपछि स्कटल्यान्ड १७५–७ को दयनीय अवस्थामा पुगेको थियो । यसअघिको खेलमा भने लिस्कले नेपालविरुद्ध सानदार शतक हानेका थिए ।
ब्रेन्डन म्याकमलन ४८ बलमा ३ चौकासहित ३१ रनमा क्याच आउट भए । नेपालका सन्दीप लामिछानले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । ललितनारायण राजवंशीले १० ओभरमा १ मेडनसहित ३३ रन खर्चेर १ विकेट लिए । कुशल मल्लले ६ ओभरमा ६० रन खर्चेर १विकेट लिए । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय  क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोज्ने नेपालका कप्तान रोहित पौडेलको निर्णयलाई बलरले राम्रो साथ दिए । 
टस जितेर पहिला फिल्डिङ गर्ने  निर्णय लिएपछि नेपालका बलरले स्कटल्याण्डलाई ४६.१ ओभरमा अलआउट गराउन सफल भएका छन् । 
यो सिरिजमा नेपाल लगातार चौथो जितको खोजीमा छ । सिरिजको अघिल्ला तीनै खेल नेपालले विजयी हासिल गरेको थियोे । नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध दुई खेल नै जितेको थियो । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अङ्कका साथ छैटौँ स्थानमा छ ।
त्यस्तै स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र नौ मा हारका साथ ५० अङ्कका साथ शीर्षस्थानमा छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार