अबको राष्ट्रपति को ? 

माओवादीको समर्थन प्राप्त गर्न माधव नेपाललाई अघि सार्दै एमाले  

मंगलबार, फागुन ९, २०७९

काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै भावी राष्ट्रपतिका विषयमा चर्चा सुरु भएको छ। फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्ता गर्ने दिन हो, तर दलहरुले अहिलेसम्म राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्न सकेका छैनन् ।
पूर्वसहमति अनुसार राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय एमालेले गरिसकेको छ ।  तर, उम्मेदवार सार्वजनिक गरेको छैन । अध्यक्ष केपी शर्मा ओलीले भावी राष्ट्रपतिमा माधव नेपालको नाम अघि सारेको चर्चाले राजनीति बजार चुलिएको छ ।
वर्तमान गठबन्धन कायम राख्न ओलीले माधव नेपाललाई राष्ट्रपतिमा अघि सार्ने संकेत प्रधानमन्त्री प्रचण्डले गरिसकेका छन् । यस्तो अवस्थामा माओवादीले त माधव नेपाललाई स्वीकार्छ नै, कांग्रेसलाईसमेत धर्मसंकेट पर्ने देखिएको छ ।
एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता गर्ने दिन घोषणा गर्ने बताएका छन् । माओवादी केन्द्रले एमाले उम्मेदवारलाई राष्ट्रपति स्वीकार्न नसक्ने बताएपछि ओली दबावमा छन् । उनी आफ्नै खेमाबाट राष्ट्रपति बनाउन चाहन्छन् । एमालेभित्रैबाट राष्ट्रपति बन्ने अवस्था आए, उपाध्यक्ष सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेलको संभावना छ । ओलीले चाहेकै व्यक्ति राष्ट्रपति बन्न सक्ने अवस्था नदेखिएपछि ओलीले सर्वस्वीकार्य व्यक्तिको खोजी गरिरहेका छन् । एमालेले राष्ट्रपति नपाउने अवस्थामा माधव नेपालको नाम ओलीले अगाडि सार्ने नेताहरुले बताएका छन् ।
तर माधव नेपाल अहिलेको गठबन्धन भत्काउन सक्रिय भएको अवस्थामा उनलाई नै राष्ट्रपति बनाउने कुरा राजनीतिक र नैतिक रुपमा पनि उचित नभएको भन्दै एमालेभित्रकै एक खेमाले विरोध गर्न थालेको छ ।
तर माधव नेपालको नाम लिँदा माओवादी र नेपाली कांग्रेसको पनि समर्थन प्राप्त हुने र त्यस्तो अवस्थमा अहिलेकै गठबन्धनले निरन्तरता पाउने भन्दै ओलीले माधव नेपालको नाम अगाडि बढाउने संभावना रहेको छ । 
संसदमा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा माओवादीले जसलाई समर्थन गर्यो उसैको उम्मेदवार राष्ट्रपति बन्ने अवस्था छ । माओवादीभित्र एमालेलाई राष्ट्रपति दिन नहुने मत बलियो छ भने भूराजीतिक अवस्था पनि एमालेको पक्षमा देखिएको छैन ।
त्यसैले माओवादीले पनि स्वीकार गर्न सक्ने र गठबन्धन पनि कायम रहने गरी ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम अगाडि सार्ने संभावना रहेको बताइएको छ ।
राष्ट्रपतिको निर्वाचनमा संघ र प्रदेशका सांसदहरु मतदाता रहने ब्यवस्था छ। सोही अनुसार संघीय एक सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार हुन आउँछ । सोही मतभार अनुसार राष्ट्रपतिको निर्वाचनमा कुल मतभार ५२ हजार सात सय सात रहेको छ। २६ हजार ३५४ मत ल्याउने उम्मेदवार विजयी हुनेछन् ।
नेपाली कांग्रेससँग कुल मत १६ हजार २२१ मत रहेको छ। कांग्रेसका उम्मेदवारलाई विजयी हुन करिब दश हजार मत आवश्यक पर्दछ । यसमा अन्य साना दलको मतभार जोड्दासमेत उसलाई जितको लागि अपर्याप्त हुन्छ ।
यस्तै एमालेको मतभार १५ हजार २३३ रहेको छ। एमालेका उम्मेदवार विजयी हुन समेत माओवादीको मत र अन्य साना दलको मत अपरिहार्य देखिन्छ।
माओवादीको जम्मा मत ७ हजार ७४५ रहेको छ। अहिलेको निर्वाचनमा माओवादीको मत निर्णायक देखिएको छ । उसले जसलाई समर्थन गर्दछ । सोही उम्मेदवार विजयी हुने हालको अंकगणितले दर्शाउँछ ।
यस्तै सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीको १५ सय ८० मतभार रहेको छ। अहिलेको सत्ता गठबन्धनमै रहेको हुँदा रास्वपाको मत गठबन्धनकै उम्मेदवारलाई जाने हालसम्मकै अवस्थाले देखिन्छ ।
सरकारलाई सर्मथन गरेको नागरिक उन्मुक्ति पार्टीको मत ८९२ रहेको छ। सरकारमा सहभागी हुन शर्त अगाडि सारेको उसले राष्ट्रपतिको निर्वाचनमा कसलाई समर्थन गर्छ यकिन छैन ।
निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीसँग चिढिएको जसपाको कुलमत २१ सय ४५ रहेको छ। उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।
आफूलाई प्रतिपक्षी दाबी गर्दै आएको र संसदीय हैसियत स्वतन्त्र कायम भएको माधव नेपाल नेतृत्वको नेकपा एसको कुलमत २५४७ रहेको छ। यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को जम्मा मत ९७१ रहेको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार