नयाँ समिकरण भत्केर पुरानो ब्युतने अवस्थामा नेपालको राजनीति

राष्ट्रपतिमा सघाउन कांग्रेसले गरेको प्रस्तावमाथि छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै 

सोमबार, फागुन ८, २०७९

काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न ४ः३० बजे बस्ने बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल हुने कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। 
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित परिस्थितिसहित हाल भइरहेका छलफलको जानकारी गराउने उनले बताए । 
राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
आइतबार कांग्रेसका महामन्त्री र माओवादीका दोस्रो तहका नेताहरूबीच ललितपुरमा छलफल भएको थियो । लगत्तै प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेसका नेताहरु बालुवाटार पुगेका थिए । 
राष्ट्रपतिमा सघाउन प्रधानमन्त्रीलाई कांग्रेसको औपचारिक प्रस्ताव
शीर्ष नेतालाई लिएर पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसमक्ष राष्ट्रपतिमा सघाउन प्रस्ताव गरेका थिए । प्रस्तावमाथि पार्टीमा छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले बताएका थिए । राष्ट्रपतिमा अर्को सत्तारुढ दल एमालेका उम्मेदवारलाई स्वीकार नगर्ने अडान लिइरहेका प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकसमेत बोलाउने तयारी गरेका छन् ।
सर्वदलीय बैठक राखेर राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने प्रयास गर्न लागिएको बताइएको छ । 
कांग्रेसले पाँच वर्ष पूरै प्रधानमन्त्रीमा सघाउने आश्वासनसहित प्रचण्डलाई उक्त प्रस्ताव गरेको हो ।  कांग्रेसको प्रस्तावमा प्रचण्ड सकारात्मक रहेको बालुवाटार पुगेका कांग्रेस एकजना नेताले बताए । 
पुस १० मा सात दलीय गठबन्धन बन्दा राष्ट्रपति एमालेलाई दिने समझदारी भएको थियोे । तर पुस २६ मा कांग्रेसको पनि मत पाएपछि प्रचण्डले राष्ट्रिय सहमतिको वकालत गरिरहेका छन् । त्यहीअनुसार कांग्रेसले संसद्को पहिलो दलका रूपमा राष्ट्रपति आफूले पाउनु पर्ने बताउँदै आएको छ ।
प्रचण्डले कांग्रेस नेतालाई दिए राष्ट्रपतिको वचन
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने वचन दिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टीको बैठक बस्नु अघिल्लो दिन आइतबार साँझ कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बलुवाटार पुगेका थिए ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने बचन मात्र दिएनन्, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि यो कुरा भनिसकेको बताएका थिए । 
कांग्रेस नेताहरुले पनि १० पुसमा गठबन्धन टुट्नु कमजोरी भएको स्वीकार गरेका छन् र, अब बन्ने समझदारीमा जुनसुकै परिस्थितिमा तल–माथि नगर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रचण्ड र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच भएको वान टु वान सम्वादमा सुरुका तीन वर्ष प्रचण्ड प्रधानमन्त्री हुने र बाँकी दुई वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्ने मोटामाटी समझदारी भएको छ ।
नेताहरुका अनुसार एमाले अध्यक्ष केपी शर्माले चाल्नसक्ने कदमबारे समेत छलफल भएको थियो । ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अघि सार्नसक्ने नेताहरुको आशंका छ । प्रचण्डले भने माधव नेपाल स्वयं ओलीतिर जाने पक्षमा नरहेको बताएका थिए । 
बैठकमा नेताहरु एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग तत्काल सम्वाद गरेर जानुपर्नेमा सहमत देखिएका छन् । 
माओवादी, कांग्रेस र जनता समाजवादी पार्टीबीच तत्काल छलफल गर्ने तयारी छ । 
कतिपयले राष्ट्रपतिको रुपमा डार बाबुराम भट्टराईलाई अघि सार्नुपर्ने मत राख्छन् भने केहीले एमालेले समेत स्वीकार गर्ने वामपन्थी पृष्ठभूमि भएका व्यक्तिलाई अघि सारेर भएपनि वाम गठबन्धन जोगाउनुपर्ने मत पनि राख्छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार