सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानको उत्कृष्ट बलिङमा स्कटल्यान्डले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियालाई २ सय २२ रनको मध्यम लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४८.४ ओभरमा २ सय २१ रनमा अल आउट भयो । स्कटल्यान्डका क्रिसटोपर म्याकब्राइड ७५ बलमा ७ चौकासहित सर्वाधिक ४७ रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । तीव्र गतिका बलर टांगेनी लुगांमेनीले ओपनर काइल कोट्जरलाई तेस्रो बलमै शून्यमा क्याच गराएका थिए । उनी एज लागेर विकेटकिपर जेन ग्रिनबाट क्याच हुँदै पेभेलिएन फर्केका थिए । डेब्यू खेल खेलेका लियाम नेलर २० रनमा बोल्ड आउट भए । दुई खेलाडी ज्याक जार्विस र क्रिस सोल चोेटका कारण खेल्न नसक्ने भएपछि उनले डेब्यू पाएका थिए । तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले लियामलाई बोल्ड आउट गरे । उनले २१ बलमा ४ चाका हाने । तेस्रो विकेटका लागि रिची र क्रिसटोफरले ४३ रनको साझेदारी गरेका थिए । म्याकब्राइड स्पिनर पिक्की या फ्रान्सको बलमा क्याच आउट भएका थिए । ट्रम्पलम्यानले नै विकेटकिपर म्याथ्यु क्रसलाई १६ रनमा बोल्ड गरे । ३३ औं ओभरको पहिलो बलमा स्पिनर बेनार्ड स्कोट्जले कप्तान रिची बेंरिग्टनलाई ३२ रनमा एलबीडब्लू आउट धरापमा पारे । ५५ बल खेलेका रिचीले एक छक्का र एक चौका हाने । मध्यक्रमका ब्याटर टम म्याकिन्टस ४८ बलमा ४ चौकासहित ३४ रनमा आउट भए । ब्रेन्डन म्याकमुलेन ४ रनमा लुंगामेनीको बलमा कट एण्ड बोल्ड आउट भए । नेपालविरुद्ध सानदार शतक हानेका माइकल लिस्कलाई ट्रम्पलम्यानले ४५ औं ओभरको चौथो बलमा २९ रनमा बोल्ड गरेपछि स्कटल्यान्डको ठूलो योगफलको सम्भावना टाढिएको थियो । लिस्कले २६ बलमा १ चौका र २ छक्का हाने । नामिबियाका रुबेन ट्रम्पलम्यानले ९।४ ओभरमा ३० रन खर्चेर ५ विकेट लिए । ओडिआईमा दोस्रो पटक पाँच विकेट लिएका ट्रम्पलम्यानको यो ओडिआई करिअरको उच्च प्रदर्शन हो । अर्का तीव्र गतिका बलर टांगेनी लुगांमेनीले ९ ओभरमा ५८ रन खर्चेर २ विकेट लिए। स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई १० विकेटले हराएको थियो । स्कटल्यान्ड नेपालसँग तीन विकेटले पराजित भएको थियो । नामिबिया नेपालसँग भने दुई र तीन विकेटले पराजित भएको थियो । स्कटल्यान्डले अन्तिम खेल नेपालसँग मंगलबार खेल्नेछ । स्कटल्यान्ड तीन खेल अगावै विश्वकप लिग–२ को च्याम्पियन बनेको थियो । आजको खेल स्कटल्यान्डले जित्दा नेपाललाई फाइदा पुग्नेछ ।