राष्ट्रपतिबाट आममाफी पाएका सांसद चौधरी रिहा

आइतबार, फागुन ७, २०७९

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन् । नेपाल प्रहरीले माघ १९ गते सांसद चौधरीललाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो । जिल्ला कारागार धनगढीबाट आइतवार बिहान उनी रिहा भएका हुन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् । उनी कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनीसहित तीन जनालाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको अभियोगमा ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ जरिबाना सुनाएको थियो ।
सांसद चौधरीसहितले २०६५ साल भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दा परेको थियो । हालको लम्कीचुँहा नगरपालिका (साविकको बलिया गाविस) क्षेत्रमा उक्त ट्याक्टर जलाइएको थियो । प्रतिनिधिसभाका सदस्य चौधरीसहित तीन जनालाई कैलाली जिल्ला अदालतले २०७० बैशाख ९ गते कैद तोकेको थियो ।
१३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई कैलालीको जिल्ला कारागारमा राखिएको थियो ।
कारागारबाट रिहा भएपछि सांसद चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले स्वागत गरेका छन् ।

रिहा भएपछि अरुण चौधरीले भने, ‘मसँग प्रतिशोध साधियो’
नाउपाका नेता चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएका छन् । कैलाली कारागारबाट आज बिहान रिहा भएपछि पत्रकारसँग कुरा गर्दै चौधरीले आफूमाथि प्रतिशोध साधिएको आरोप लगाएका हुन् ।
१८ दिनको कारागार बसाइँले धेरै कुरा सिकाएको बताउँदै उनले भने, ‘आज जुन हिसाबले म भित्र आएँ, त्यो त एउटा राजनीतिक प्रतिशोधको हिसाबले भित्र आएको हो जस्तो लागिरहेको छ ।’
उनले अगाडि भने, ‘यो सानो पार्टी छ, जसरी उठिराछ, त्यसरी नै खुम्चाइदिउँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो देखिएको छैन ।’
जिल्ला अदालतको फैसलाबारे आफूले जानकारी नपाएको र सफाइ पेस गर्ने मौका पनि नपाएको उनले दाबी गरे । ‘म तीनचोटी चुनाव लडिसक्या छु । २०७४ को कानुनमा पनि लेखिसक्या छ । म त्यतिखेर पनि आफ्नो सफाइको लागि पेश गर्न सक्थें, उच्च अदालतमा पनि जान सक्थें । मैले त्यतिखेर मौकै पाएन । जानकारी नभएपछि मौका कसरी पाउन रु’ उनले भने । मेरो नाम फरार सूचीमा छ कि छैन भनेर सोध्दा जिल्ला प्रहरी कार्यालयले पनि छैन भनेको चौधरीले दाबी गरे ।
 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार