सेनाको स्थापना दिवस 

नेपाली सेनाले बोलायो चार भारतीय पूर्व सेना प्रमुख

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगेका छन् । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन काठमाडौँ आउने पूर्वसेना प्रमुखहरुमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह,  दीपक  कपुर र दलवीरसिंह सुहाग छन् । 
नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । तीमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार आउने छन् । 
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरुले भाग लिनेछन् । त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उनीहरु सहभागी हुने छन् । 
सैनिक मुख्यालय जङ्गी अड्डामा यही फागुन ७ गते प्रधानसेनापति प्रभुराम शर्मासहित समकक्षीसँग उनीहरुको भेटघाट र छलफल हुनेछ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सोही दिन साँझ जङ्गी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्व प्रमुखहरुको सहभागिता रहनेछ ।
नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा छ । नेपाली सेनाले यस वर्ष  २६० औँ स्थापना दिवस मनाउँदैछ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार