सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । बुधबार राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता डा.चन्द्रकान्त भण्डारी तथा उनकी आमा हरिकला भण्डारीको अवस्था गम्भीर रहेको छ । दुबैलाई थप उपचारका लािग बाहिर लैजान कीर्तिपुरस्थित बर्न अस्पतालले सिफारिश गरेको छ । अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार नेता डा भण्डारीको अनुहार, दुवै हात र गोडामा २५–३० प्रतिशत तथा आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ । डा.भण्डारी र आमा हरिकलाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको डा नकर्मीको भनाइ छ । ‘नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण (सिफारिस) गरिएको छ’अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
ग्यास सिलिण्डर विस्फोटमा परी घाइते भएका सांसद भण्डारी तथा उनकी आमाको बर्न अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिइन् । बुधबार राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर दुवैजना घाइते भएका हुन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर विस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा गएर अवस्था बुझेका थिए । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।