प्रधानमन्त्री–सुरक्षा निकायका प्रमुख छलफल

गोंगबु घटनाको छानविन गरी लुटपाटमा संलग्नलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन 

बुधबार, फागुन ३, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले गत सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार दिउँसो सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कारवाही गर्न निर्देशन दिएका हुन् । 
प्रधानमन्त्री प्रचण्डले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिँदै भने, “गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु । राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ । घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस् । लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कारवाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस् ।”


छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको बताएका थिए । छलफलमा उनीहरुले घटनामा परी ३३ जना प्रहरी घाइते भएको, शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बीच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको ब्रिफिङ गरेका थिए । 
छलफलका क्रममा सुरक्षा निकायका प्रमुहखहरुले घटनाको छानविन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएकोसमेत प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।  
प्रधानमन्त्रीकै पहलमा भएको छलफलमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, मुख्यसचिव, गृहसचिव, प्रधानमन्त्री कार्यालयका तर्फबाट शान्तिसुरक्षा हेर्ने सचिव र सुरक्षा अंगका प्रमुखहरू उपस्थित थिए । 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार