सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’को अनुसन्धान फाइल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीले हिजो फाइल जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको हो । अब सरकारी वकिलको कार्यालयले फाइल अध्ययनपछि अदालतमा अभियोगपत्र दायर गर्नेछ । सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीका अनुसार उक्त घटनामा ११ जनालाई प्रतिवादी बनाइएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गएको पुस ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस २७ मा भएको थियो । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई ‘फिक्सिङ’को प्रस्ताव आएको खुलासा गरेका थिए । गृह मन्त्रालयले फिक्सिङ र स्पट फिक्सिङको अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबी सक्रिय भएको थियो । अनुसन्धानका क्रममा स्पट फिक्सिङमा सहभागी भएको आरोपमा यसअघि युवा अलराउन्डर मोहम्मद आदिल अन्सारी, पूर्वक्रिकेटर मेहबुब आलम र नितेश गुप्ता पक्राउ परेका थिए । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार मेहबुबले बाहिर बसेर स्पट फिक्सिङको प्रस्ताव गरेका थिए । आदिलले सो प्रस्ताव स्वीकार गरेका थिए । उनले लिगको एक खेलमा बलिङ गर्ने क्रममा स्पट फिक्सिङको योजनाअनुसार ‘नो बल’ फालेका थिए । हालसम्म तीनजना मात्र पक्राउ परेका छन् । आरोपित अरू व्यक्ति फरार छन् । विदेशी खेलाडी स्वदेश फर्किइसकेका छन् । यसबाहेक आदिलको ‘कनेक्सन’ जतिन अलुवालियासँग देखिएको थियो । जतिन क्यानले व्यावसायिक तथा रणनीतिक साझेदार बनाएको सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक हुन् । उनी प्रतियोगिता चलिरहेकै बेला भारत भागेका थिए ।