गोँगबु घटना मुलुककै सुरक्षा व्यवस्थामा चुनौती

गोँगबु घटनाका दोषीलाई कारबाही गर्न सांसदको माग

बुधबार, फागुन ३, २०७९

काठमाडौँ । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा गत सोमबार भएको घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बुधबार बोलेका अधिकांश सांसदहरुले सोमबार भएको सो घटनाका दोषी जोसुकै भए पनि कारबाही गर्न सरकारसँग माग गरेका हुन् । तर, अहिलेसम्म सो घटनाको योजनाकार पक्राउ नपरेको भन्दै सरकारको आलोचना गरेका छन् । उनीहरुले प्रदर्शनकारीबाट भएको लुटपाट र तोडफोडको क्षति व्यवसायीलाई उपलब्ध गराउन पनि माग गरे ।
काठमाडौंमै सरकारले उचित र व्यवस्थित सुरक्षा व्यवस्था गर्न नसक्दा सरकारी र व्यक्तिको सम्पत्तिमा क्षति पुगेको उक्त घटनाले देशको सुरक्षा व्यवस्थालाई दर्साएको उनीहरुको भनाइ छ।
बैठकमा सांसदरुले यही फागन १ गते काठमाडौँको बालाजुमा भएको चोरी र लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरे । 
उनीहरुले चुस्त सुरक्षाको व्यवस्था गर्नसमेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद सूर्य थापाले बालाजुमा भएको घटनाको यथार्थ विवरण संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । उनले काठमाडौँको मुटुमा भएको उक्त घटनाका बारेमा सरकार मौन बस्न नमिल्ने बताए । 
सांसद विराजभक्त श्रेष्ठले काठमाडौँको गोँगबु बसपार्कमा भएको अमानवीय लुटपाटको घटनाका दोषीलाई कडा कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गरे । 
सांसद शिशिर खनालले मजदुर आन्दोलनको नाममा गोँगबु बसपार्कमा भएको लुटपाटमा संलग्न व्यक्तिहरुलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए । 
सांसद शङ्कर भण्डारीले गत फागुन १ गते गोँगबु बासपार्कमा व्यवसायीका सामान लुटपाटमा संलग्नलाई पक्राउ गरी दोषीलाई काम कारबाही गरेर पीडितलाई क्षतिपूर्ति दिन माग गरे । 
सांसद ज्ञानबहादुर शाहीले काठमाडौँको गोँगबुको घटनाका बारेमा अवगत गराउँदै तत्काल चुस्त सुरक्षाको वयवस्था प्रत्याभूत गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद ज्ञानु बस्नेत सुवेदीले किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएकोप्रति आवश्यक व्यवस्था गर्न माग गरिन् ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार