आफू जलेर अरूलाई बचाउने विप्लभको सम्झनामा उद्धार र राहत कोष स्थापना

भावुक हुँदै विप्लभका बाबु ठाकुरले भने, ‘छोरालाई अमर बनाउन कोष’
मंगलबार, फागुन २, २०७९

ललितपुर । कार्यक्रममा उपस्थितहरू भावुक देखिन्थे । धेरैको अनुहार मलिनो थियो । कोहीको त आँखा रसाएको थियो । सोमबार दिउँसो चारबजेतिरको थसिखेल चोकको वातावरण देख्दा लाग्थ्यो, सबैले आफूलाई जबरजस्ती सम्हालिरहेका छन् । कार्यक्रम थियो, विप्लभ अधिकारी उद्धार तथा राहत कोष घोषणा कार्यक्रम ।  विप्लभले अघिल्लो वर्ष फागुन १ गते थसिखेलमा भएको आगलागीमा परेका ज्येष्ठ नागरिकलाई बचाउँदा ज्यान गुमाएका थिए । 
यज्ञमार्ग टोल विकास समितिले आयोजना गरेको कार्यक्रममा विप्लभका बाबु ठाकुर अधिकारीले आफूलाई सम्हाल्दै भने, ‘साहसी थियो, अरुको दुख देख्न सक्दैन थियो, वृद्धवृद्धा, केटाकेटीलाई साह्रै माया गथ्र्यो, सरल स्वभावको थियो ।’ छोराले आफूसँग कुनै दिन ‘डिमाण्ड’ नगरेको ठाकुरले बताए । उनले भने, ‘उसले नाई कहिल्यै भनेन, जे भनेपनि हस् भन्थ्यो, यस्तो होनाहार छोराको अभाव परिवारमा सधैं खड्कियो, हामीले जे गरे पनि उ फर्किएर अब आउँदैन, मेरो छोराको नाम इतिहासमा अमर रहोस् ।’ 

330814960_575532064468195_1512753871908091156_n1676357199.jpg
छोराको नाम अमर बनाउन विप्लभ अधिकारी उद्धार तथा राहत कोष घोषणा गरेको बताए । ठाकुरले राहत कोषमा २० लाख राखेको घोषणा गरे । उनले भने, ‘मैले उसलाई पढाउन राखेको रकम हो यो, त्यो रकम नै राहतकोषमा दिएँ ।’ विप्लभका बाबु ठाकुरले यो कोषलाई व्यक्तिगत कोष नबनाउन आग्रह गरे । यसलाई राष्ट्रिय रुप दिन उनले सरोकारवालासँग आग्रह गरे । 
कोषको रकमलाई आगलागी लगायतका प्रकोप न्यूनीकरण र नियन्त्रणका लागि चेतना जगाउने काममा खर्च गर्न ठाकुरले अनुरोध गरे । उनले अगाडि थपे,‘ भवितव्यमा परेकाहरूलाई यो कोषले सहयोग गरोस्, हामी अस्पतालमा बस्दा आर्थिक अभावले छट्पटाइरहेका र अभाव खेपिएकाहरूको पीडा पनि कम दर्दनाक थिएन ।’ छोराको भौतिक शरीर नभए पनि यो कोषले मृत्युपछि पनि विप्लभलाई जीवित राख्ने विश्वास व्यक्त गरे । 

331093771_1017936729592711_3848068378409170585_n1676357212.jpg
कार्यक्रममा ललितपुर क्षेत्र नं.३ की प्रतिनिधिसभा सांसद डा.तोसिमा कार्कीले  प्रकोप नियन्त्रण र न्यूनीकरणका लागि आवश्यक तालिम र चेतनामूलक कार्यक्रम सञ्चालन गर्न छलफल अघि बढाएको बताइन् । 
आफ्नो एक महिनाको पारिश्रमिक उक्त राहत कोषमा जम्मा गर्ने उनले घोषणा गरिन् । 
बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री केशवप्रसाद पोखरेलले विप्लभ साहसिक व्यक्ति भएको बताउँदै मरणोपरान्त सम्मानका लागि हकदार भएको दाबी गरे । उद्धार तथा राहत कोषका लागि ५० हजार सहयोग गर्ने उनले बताए । 

330778096_580023344030040_7542257002362462213_n1676357185.jpg
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले विप्लभ अधिकारीलाई वीर पुरुषको संज्ञा दिए । आफूलाई जोखिममा राखेर अरुको ज्यान बचाउन अघि सर्ने विप्लभको योगदानको ललितपुर महानगरले उच्च मूल्यांकन गर्ने प्रतिबद्धता व्यक्त गरे । 
ललितपुर महानगर वडा नंं. १४ का वडा अध्यक्ष अमृतजंग महतले विप्लभको साहसिक स्वभावको प्रशंसा गरे । विप्लभ अमर भएको दाबी उनले गरे । 
ललितपुर प्रहरी परिसरका एसएसपी शिद्धिविक्रम शाहले विप्लभ  अमर नागरिक भएको बताए । विप्लभको सहयोग स्वाभवले व्यक्ति केन्द्रित हुँदै गएको युवा पुस्तालाई पाठ सिकाएको उनको धारणा थियो । उनले भने, ‘उद्धारमा खटिदाँ कसरी आफु सुरक्षित हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’ 
कार्यक्रममा प्रहरी परिवार महिला संघका अध्यक्षलगायतले विप्लभ अधिकारीको राज्यले उचित मूल्यांकन गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा विप्लभले बचाएका खड्गबहादुर लिम्बु दम्पत्तीले उद्धार तथा राहत कोषमा ५ लाख प्रदान गर्ने घोषणा गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार