सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपालले आईसीसी लिग–२ मा नामिबियाविरुद्धको खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा सुरु भएको त्रिदेशीय एकदिवशीय पहिलो खेलमा नेपाल र नामिबियाबीच खेल हुन लागेको हो । नेपालले नामिबिया र स्कटल्यान्ड दुवैसँग २–२ खेल खेल्ने छ । रोहित पौडेलको कप्तानीमा नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन् ।
नेपाली क्रिकेट टोलीले के ओडीआई मान्यता जोगाउन सक्ला ? नेपाली क्रिकेट अहिले मैदानबाहिर र मैदानभित्र दुबै ठाउँमा अप्ठ्यारो अवस्थामा देखिन्छ । नेपाल टी–२० लीगका कारण सिर्जित विषम परिस्थितिका कारण मैदानबाहिर नेपाल क्रिकेट सङ्घ विवादित र आलोचित छ । बेथितिले अस्तित्व नै धरापमा पर्न सक्नेसम्मको परिस्थिति बनेको छ । नाबालिग बलात्कारको आरोपमा मुद्दा खेपिरहेका खेलाडी सन्दीप लामिछानेलाई मुद्दाको छिनोफानो नै नभई राष्ट्रिय टोलीमा स्थान दिँदा सङ्घ थप विवादित बनेको छ । मैदानभित्र देखा परेका चुनौती झन् गम्भीर प्रकृतिका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय ‘ओडीआई’ राष्ट्रको मान्यता नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त गरेको अहिलेसम्मकलै ठूलो सफलताको हो । तर अहिले नेपाल त्यसलाई जोगाउने कठिन चुनौतीको सँघारमा छ । राष्ट्रिय टोलीले यो महिना आईसीसी विश्वकप लीग २ अन्तर्गत तीनवटा त्रिकोणात्मक शृङ्खलामा १२ वटा एकदिवसीय खेल खेल्नेछ । ती खेलमध्ये कम्तीमा नौ खेल जित्न नसके नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता धरापमा पर्नेछ । यदि ओडीआई मान्यता जोगाउन नसके नेपाली क्रिकेटले आईसीसीबाट पाउने ठूलो सहयोग रकम गुमाउनुका साथै राष्ट्रिय क्रिकेट टोलीको लागि अवसरका अरू ढोकाहरू पनि बन्द हुनेछन् ।
सिरिजको खेल तालिका फागुन २ गते : नेपालविरुद्ध नामिबिया फागुन ३ गते : नामिबियाविरुद्ध स्कटल्याण्ड फागुन ५ गते : नेपालविरुद्ध स्कटल्याण्ड फागुन ६ गते : नेपालविरुद्ध नामिबिया फागुन ८ गते : नामिबियाविरुद्ध स्कटल्याण्ड फागुन ९ गते : नेपालविरुद्ध स्कटल्याण्ड
नेपालले सन् २०१८ मा ओडीआई राष्ट्रको मान्यता पाएको हो । त्यससँगै नेपालले सात राष्ट्र सम्मिलित ‘विश्वकप लीग २ शृङ्खला’ खेल्ने अवसर पाएको थियो । सन् २०१८ देखि २०२२ सम्म चार वर्षको अवधिमा नेपाली टोलीले नौवटा शृङ्खलामा कुल ३६ एकदिवसीय खेल खेल्न पायो । त्यसलाई नेपाली क्रिकेटको विकासको लागि ठूलो अवसरका रूपमा लिइन्छ । यसबीचमा नेपालले २४ वटा खेल खेल्न भ्याइसकेको छ। कोरोनाभाइरस महामारीका कारण अवरुद्ध खेल आयोजना आईसीसीसीले एक वर्ष थप गर्दै विश्वकप लीग २ को समयावधि २०२३ को फेब्रुअरीसम्मलाई तोकेपछि बाँकी खेल खेल्न अहिले हतारोमा कार्यक्रम बनेको देखिन्छ । त्यसैले फेब्रुअरी महिनामा नेपालले तीन शृङ्खलामा सहभागी भएर लगातार १२ खेल खेल्नुपर्नेछ । नेपालले स्कटल्यान्ड र नामिबिया सम्मिलित पहिलो चार खेलको शृङ्खला कीर्तिपुर मैदानमा फागुन २ देखि ९ गतेसम्म खेल्नेछ। त्यसपछि टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) मा फागुन १५ देखि २२ गतेसम्म युएई र पपुवा न्युगिनी सम्मिलित शृङ्खला खेल्नेछ । लगत्तै सोही राष्ट्रिय टोली स्वदेश फर्किनेछ र दुई दिनको आरामपछि फेरि फागुन २५ देखि चैत्र २ गतेसम्म अन्तिम शृङ्खला खेल्नेछ । लीग २ का सात राष्ट्रहरू स्कटल्यान्ड, ओमान, नामिबिया, अमेरिका, यूएई, नेपाल र पपुवा न्यूगिनी हुन् । सात राष्ट्रमध्ये शीर्ष तीनमा रहने टोली जिम्बावेमा हुने विश्वकप २०२३ को छनोट खेलमा पुग्नेछ । कुन ४६ अङ्कका साथ शीर्ष स्थानमा रहेको स्कटल्यान्डले त्यसका लागि आफ्नो स्थान सुरक्षित गरिसकेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः ओमान (४४) र नामिबिया (४२) छन्। चौथो स्थानमा अमेरिका (३५) र पाँचौँमा यूएई (२७) छन् । शीर्ष पाँच स्थानमा पर्ने टोलीको एकदिवसीय राष्ट्रको मान्यता कायम रहनेछ । छैटौँ र अन्तिम स्थानमा रहने दुई टोली भने तल झर्नेछन् र तिनको एकदिवसीय मान्यता पनि धरापमा पर्नेछ । लीग २ मा नेपाल १८ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालपछि अन्तिम स्थानमा रहेको पपुवा न्यूगिनीको पाँच अङ्क मात्र छ ।
शीर्ष पाँचमा नपरे ओडीआई मान्यता कसरी जोगिन सक्छ ? यद्यपि एकदिवसीय मान्यता पुनः प्राप्त गर्न र लीग २ को अर्को शृङ्खला खेल्न तथा एकदिवसीय मान्यता पाउन झरेको दुई टोलीलाई अर्को एउटा मौका भने दिइएको छ । त्यसअनुसार लीग २ को शीर्ष तीन स्थानमा नपरेका चार राष्ट्रले आईसीसी विश्वकप च्यालेन्ज लीग प्लेअफ खेल्नेछन् । त्यसमा दोस्रो डिभिजनको आईसीसी विश्वकप च्यालेन्ज लीगका शीर्ष दुई टोली राखेर छवटा टोलीबीच प्रतिस्पर्धा हुनेछ । विश्वकप च्यालेन्ज लीगबाट क्यानडा र जर्सी छनोट भइसकेका छन् । लीग २ का चार टोलीको छिनोफानो सबै राष्ट्रको ३६ खेलपछि मात्र तय हुनेछ । तर ३६ खेल खेलिसकेको अमेरिका भने प्लेअफमा खेल्ने निश्चित भइसकेको छ । प्लेअफका शीर्ष दुई टोलीले एकदिवसीय मान्यता पुनर्प्राप्ति गर्नेछन् भने विश्वकप छनोट क्वालिफायरमा पनि खेल्ने मौका पाउनेछन् । यसमा ओडीआई जोगाउने अर्को मौका पनि हुनेछ। क्यानका क्रिकेट म्यानेजर विनोद दास भन्छन्, ‘यदि लीग २ का शीर्ष पाँचमै रहेका दुई टोली प्लेअफ फाइनलमा पुगेमा त्यसपछि तेस्रो र चौथो स्थानमा रहने राष्ट्रको ओडीआई जोगिनेछ । यद्यपि यी विषयमा आइसीसीले लिखित केही भनेको छैन ।’
नेपाली क्रिकेटका चुनौती के हुन् ? नेपालको पहिलो प्रयास भने लीग २ को शीर्ष पाँचभित्र रहनु नै हुनेछ । त्यसको लागि नेपालले अहिले खेल्ने १२ खेलमध्ये कम्तीमा नौ खेलमा जित हात पार्नुपर्नेछ । राष्ट्रिय टोलीका पूर्वखेलाडी सञ्जम रेग्मी भन्छन्, ‘वर्तमान परिस्थितिमा नेपाली क्रिकेटको अवस्था हेर्दा यो अत्यन्त मुस्किल छ ।’ पछिल्लो समय नेपालले लीग २ का महत्त्वपूर्ण खेलहरू गुमाएसँगै नेपालको ओडीआई हैसियत गुम्ने चिन्ता बढ्न थालिसकेको थियो । राष्ट्रिय टोलीका खेलाडीहरूको वरीयता विवाद, कप्तान परिवर्तन, खेलाडीहरूबीच देखिएको बेमेल, प्रशिक्षकहरूको छोटो नेपाल बसाइले टोलीको प्रदर्शनमा नकारात्मक प्रभाव परेको देखिएको थियो । यस्तोमा स्कटल्यान्ड र नामिबियाको पछिल्लो लीग २ भ्रमणमा नेपालले राम्रो परिणाम ल्याउन नसकेपछि अहिले अन्तिम खेलहरूमा नेपाल दबावमा पर्न गएको हो । स्कटल्यान्ड भ्रमणमा नेपालले जम्मा एक खेल मात्र जितेपछि प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका थिए । कप्तान सन्दीप लामिछाने नाबालिग बलात्कार अभियोगमा थुनामा परेपछि रोहित पौडेलको कप्तानीमा गएको नामिबिया भ्रमणमा नेपालले एउटा पनि खेल जित्न सकेन । नेपालले स्कटल्यान्डसँग दुवै खेल हार्यो। नामिबियासँग एक खेल वर्षाका कारण अनिर्णित भयो भने अर्को खेलमा नेपाल पराजित भयो । उक्त नतिजापछि नयाँ भारतीय प्रशिक्षक मनोज प्रभाकरले नामिबिया भ्रमणलगत्तै राजीनामा दिए । पूर्वकप्तान समेत रहेका विनोद दास भन्छन्, ‘नेपाल दबावमा छ, तर कमजोर भने छैन । स्कटल्यान्ड र नामिबिया भ्रमणमा खेलाडीहरूले जित्न सक्ने थुप्रै खेलहरू गुमाए । तर पछिल्लो वर्षमा खेलाडीहरूले पर्याप्त खेल खेल्ने मौका पाएका छन् । त्यसको फाइदा लीग २ मा हुनसक्छ ।’ अबका १२ मध्ये आठ खेल कीर्तिपुर मैदानमा खेलिने भएकाले नेपाली टोलीलाई घरेलु मैदानको लाभ हुनसक्छ । यद्यपि नेपाली टी–२० लीगमा भएको फिक्सिङ प्रकरणपछि दर्शकहरूको उपस्थिति कस्तो होला अहिले नै भन्न सकिन्न । दर्शकहरूको समर्थनले खेलाडीहरूको मनोबल फरक पर्न सक्ने आकलन गरिएको छ । यसपालिको राष्ट्रिय टोलीमा केही नयाँपन भए पनि खेलाडी छनोटको विषयमाथि प्रश्न उठेको छ । धरौटीमा छुटेका सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा राखिएकाले नेपाल क्रिकेट सङ्घको चर्को आलोचना भएको छ । पूर्वस्पिनर सञ्जम रेग्मीका अनुसार नेपाली टोलीले एकदिवसीय जोगाउने आशा स्पिनरहरुको प्रदर्शनमा निर्भर हुनेछ । उनी भन्छन्, ‘कीर्तिपुर र दुबईको विकेट उस्तै हो । बिहानीपख केही समयबाहेक पूरा खेलमा स्पिनरहरू हाबी हुनैपर्छ । म भन्छु जितको सूत्रधार स्पनिरहरू नै हुनेछन्। उनीहरू नचलेमा गाह्रो हुनेछ।’ नेपाली स्पिनरको मुख्य अस्त्र सन्दीप लामिछाने हुन् । ललितनारायण राजवंशी र दीपेन्द्र सिंह ऐरी टोलीका अरू भरपर्दा खेलाडी हुन् । पहिलो पटक टोलीमा बायाँहाते स्पिनर सूर्य तामाङलाई राखिएको छ । नेपालको स्थिति कठिन भइसकेको अवस्थामा र टोलीमा ‘म्याच जिताउने क्षमता भएका’ बलरको अभाव रहेकोले क्यानले सबै आलोचना सहेर भए पनि लामिछानेलाई राष्ट्रिय टोलीमा राखेको अनुमान खेलविज्ञहरूको छ ।