भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं आए लगत्तै सुरु भयो सचिव स्तरीय वार्ता 

सोमबार, फागुन १, २०७९

काठमाडौँ । नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान काठमाडौं आएका भारतका विदेश सचिव विनयमोहन क्वात्रा सचिवस्तरीय द्धिपक्षीय वार्तामा बसेका छन् । विदेश सचिवमा नियुक्त भएपछि उनी पहिलो पटक नेपाल भ्रमणमा आएका हुन् । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल भ्रमण आएका हुन् । भारतको विदेशसचिव हुनुअघि उनी नेपालका लागि भारतीय राजदूत थिए ।

काठमाडौँ आइपुगेलगत्तै विदेश सचिव क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी भएका हुन् । सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । द्धिपक्षीय वार्तामा उनीहरुबचि कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने छ । 
दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भारत र नेपालबीच सभ्यतागत एवं ऐतिहासिक सम्बन्ध छ । यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ । यो भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउन अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

काठमाडौँमा नेपाल–भारत परराष्ट्र सचिवस्तरीय भेटवार्ता सुरु
होटल याक एन्ड यतीमा द्धिपक्षीय वार्तामा नेपालले सीमा समस्याको कुरा पनि उठाउने तयारी गरेको छ । भारतले नेपाली भूभाग कालापानी र लिम्पियाधुरा अतिक्रमण गरेको छ । नेपालले वार्ताका लागि आग्रह गरे पनि भारतले चासो दिएको छैन । तीन वर्षअघि भारतले नेपाली भूमि कालापानी समेटेर  राजनीतिक नक्सा बनाएपछि जवाफमा नेपालले पनि लिम्पियाधुरा समेटेर नक्सा बनायो । त्यसयता सीमा विवादबारे वार्ता गर्न नेपालले राखिरहेको प्रस्ताव भारतले अस्वीकार गरिरहेको छ।  क्वात्राले आजै दिउँसो २ बजे परराष्ट्रमन्त्री विमला राईसँग शिष्टाचार भेट गर्नेछन् । यसैगरी दिउँसो ३ बजे उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ।  यसपछि बेलुकी ६ बजे क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार