सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा उनी दुई दिने नेपालको औपचारिक भ्रमणमा आएका हुन् । विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो । विदेश सचिव हुनु अघि उनी नेपालका लागि भारतीय राजदूत थिए । दुई देशबिचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबिचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नेछन् । सो अवसरमा उनीहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारत र नेपालबिच सभ्यतागत एवं ऐतिहासिक सम्बन्ध रहेको छ। यसबिच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबिचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ। यो भ्रमणले दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउन अवसर प्रदान गर्ने विश्वास गरिएको छ।