सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सत्तारुढ गठबन्धनलाई संयोजन गर्ने गरी बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रको आजको बैठकमा तीन दल सहभागी भएनन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संयन्त्रको बैठकमा नागरिक उन्मुक्ति, जसपा र जनमत पार्टी सहभागी नभएका हुन् । बालुवाटारमा बसेको संयन्त्रको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , संयन्त्रको संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र उपप्रधानमन्त्री रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको सहभागीता रहेको थियो । सत्तारुढ सात दलीय गठबन्धनको एक घटक नागरिक उन्मुक्ति पार्टी पछिल्लो समय असन्तुष्ट छ । कारागारमा रहेका आफ्ना नेता रेशम चौधरीको रिहाइका लागि पहल नगरेको तथा संघीय सांसद अरुण चौधरीलाई पुरानो मुद्दा दोषी ठहर गरी पक्राउ गरिएको विषयपछि नाउपा सत्ता गठबन्धनसँग रुष्ट छ । उसले हिजो बिहिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत पनि दिएन । नाउपाको मत नपाएकै कारण एमाले नेतृत्वको सरकार बहिर्गमन भइसकेको छ । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् । जसपा अध्यक्ष यादव तराईमा, जनमत पार्टीका अध्यक्ष राउत विवेकशील साझा पार्टीको महाधिवेशनमा र नाउपका अध्यक्ष रञ्जिता श्रेष्ठ कारागारमा रहेका नेता रेशम चौधरीलाई भेट्न गएका कारण बैठकमा नगएको बताइएको छ ।
किन सहभागी भएनन् यी ३ दल ? प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बेला राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी बाहेक संसदका सबै दलले समर्थन गरेका थिए । त्यसमध्ये अहिले सरकारमा माओवादी केन्द्र, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टी मात्रै छन्। रास्वपा गृहमन्त्रालय आफ्नो पार्टीले नपाएपछि सरकारबाट बाहिरिएको छ । रास्वपाका सभापति रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतको फैसलाले गएपछि गृहमन्त्री पद पनि गएको थियो । गृह रास्वपाले नै पाउनुपर्ने लामिछानेले अडान राखेको भएपनि प्रचण्डले गृहमन्त्रालय दिन अस्वीकार गरे । जसपा सम्मानजनक भागबण्डा नपाएको भन्दै सरकारमा सहभागी भएको छैन । जनमत पार्टी पनि सत्ता गठबन्धनसँग असन्तुष्ट छ । जनमतबाट एक जना मात्रै मन्त्री छन् । रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्ड नेतृत्वको सरकार अप्ठ्यारोमा परेको छ । २६८ जनाको विश्वासको मत पाएका प्रचण्डसँग अहिले सरकारमा रहेका दलको सांसद संख्या एमालेका ७९, माओवादी केन्द्रका ३२, राप्रपाका १४, जनमतका ६ गरी १३१ मात्रै छ । २७५ सदस्यीय प्रतिनिधिसभामा १३८ जनाको बहुमत आवश्यक पर्छ। त्यसैले जसपा र रास्वपालाई सरकारमा सहभागी गराउन सत्तारुढ दलले पहल गरिरहेका छन् ।
के भयो बालुवाटार बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपतिको निर्वाचन र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । बैठकमा कुनै निर्णय भने नभएको सत्तारुढ दलका नेताहरुले बताएका छन्। रास्वपालाई फेरि सरकारमा सहभागी हुन उच्चस्तरीय संयन्त्रका संयोजक तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका थिए । एमालेले रास्वपा र जनता समाजवादी पार्टी जसपालाई सरकारमा सहभागी गराउन गृहकार्य भइरहेको बताएको छ ।