राष्ट्रपतिले आज अपराह्न सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने

शुक्रबार, माघ २७, २०७९

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक प्रावधान अनुसार आज  राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रत्येक वर्षको पहिलो अधिवेशनमा राष्ट्रपतिले सम्बोधन गर्ने प्रावधान संविधानमा नै उल्लेख छ ।   
राष्ट्रपतिको सम्बोधनका लागि आज तीन बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दै छ ।
संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीयसंसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ । 
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् । 
राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीयसंसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । 
राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन् । त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीयसंसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
राष्ट्रपति भण्डारीले शनिबार अपराह्न ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गरेकी छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  ०९:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार