गठबन्धन जोगाउन एमालेले अधिकतम पहल गर्ने

एमाले बैठक 
बिहीबार, माघ २६, २०७९

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी दलहरू एकपछि अर्काे बिच्कन थालेपछि एमालेलाई यसलाई पूर्ववत अवस्थामा ल्याउन हम्मे हम्मे पर्दै गएको छ । आफूले च्याप्दा च्याप्दै पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा टिकाउन नसक्दा गठबन्धननै धरापमा परेका एमालेको विश्लेषण छ । एमालेले अन्तिम समय सम्म पनि रास्वपालाई सरकार नछाड्न जोडवल गरिरहेको थियो । नागरिक उन्मुक्ति पार्टी पनि सत्ता गठबन्धनसँग खुसी छैन । कारागारमा रहेका उसका नेता रेशम चौधरीको रिहाईका लागि पहल नगरेको तथा अर्काे मुद्दामा आफ्ना सांसदलाई पक्राउ गरी थुनामा राखेको विषयले नागरिक उन्मुक्ति पार्टी सरकारसँग रुष्ट छ । आफ्नो असन्तुष्ठि नाउपाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिएर पोखिसकेको छ । नाउपाका सांसद अनुपस्थित हुँदा आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजीनामा दिन बाध्य भए । सिके राउत तथा जनता समाजवादी पार्टी पनि सरकारसँग असन्तुष्ट नै छ । सरकार बनेको एक महिना हुँदा परिस्थिति आफूले सोचे अनुरुप नगएको विश्लेषण गर्दै एमालेले सत्ता गठबन्धन टिकाइराख्ने संकल्प नै गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सत्ता गठबन्धन टिकाउने संकल्प गरेको हो । 
एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले भने, ‘जनतामा बढ्न थालेको निराशालगायतका विषयलाई सम्बोधन गरेर सही राजनीति दिनको लागि यो गठबन्धन र सरकारलाई टिकाएर लानुपर्छ । चुनौती छन् तर टिकाएर लानुपर्छ भन्ने संकल्प गरेका छौं ।’
उनले भने, ‘हामीले पुस १० गते नयाँ कोर्स निर्माण गर्दाको सहमतिअनुसार रास्वपालाई उसको भागमा परेको जिम्मेवारी दिनुपर्थ्यो । व्यक्ति कसलाई पठाउनुहुन्थ्यो उहाँहरूको कुरा हो । उहाँहरूले समर्थन कायमै राख्नुभएको छ । उहाँहरूलाई उपयुक्त वातावरण बनाएर ल्याउने प्रयास जारी छ ।’
जसपा र नागरिक उन्मुक्तिलाई पनि सरकारलमा ल्याउन एमालेले छलफल चलाउने भएको छ । गठबन्धनमा उत्पन्न भएका समस्याका विषयमा भोलि बस्ने उच्चस्तरीय संयन्त्रको बैठकमा समीक्षा गर्ने तयारीमा एमाले छ । 
‘मिसन ग्रासरुट’ 
बैठकले पार्टीको वैचारिक तथा साङ्गठनिक सुदृढीकरणका लागि आगामी फागुन १ गतेदेखि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीका सदस्यले दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ कार्ययोजनाअनुसार कार्यसम्पादन गर्नुपर्ने र अभियान सञ्चालन फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । 

कार्यविभाजन

बैठकले रिक्त रहेका ठाउँमा कार्यविभाजन गरी जिम्मेवारी तोकेको छ । पार्टीको अर्थ तथा योजना विभाग प्रमुखमा स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेलाई जिम्मेवारी दिइएको छ । यसअघि उक्त विभागको प्रमुख घनश्याम भुसाल थिए । भुसालले एमाले छाडेपछि उक्त पद खाली थियो ।
प्रदेश–१ को इन्चार्जमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, अपाङ्गता फाँटको इन्चार्जमा पोलिटब्यूरो सदस्य पार्वत गुरूङ र धनुषा जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य शीला यादवलाई आजको बैठकले तोेकेको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनाका बारेमा धारणा राखेका थिए । 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  २१:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार