राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने 

बिहीबार, माघ २६, २०७९

काठमाडौँ । नव निर्वाचित संसद्को पहिलो अधिवेशनलाई राष्ट्रध्यक्षले सम्बोधन गर्ने परम्परा अनुसार भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन् । राष्ट्रपतिको सम्बोधनका लागि संसद सचिवालयमा सम्पूर्ण तयारी पूरा गरेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरको प्रवेशद्धारदेखि नै नेपालको झण्डा फहराएर राष्ट्रपतिको स्वागतको तयारी गरिएको छ ।  
राष्ट्रपति भण्डारीले भोलि अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सम्बोधन गर्ने कार्यक्रम छ। 
राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन् । त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने छन् । 
नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुन लागेको हो । संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्ने भन्ने व्यवस्था छ । 
सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ । 
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् । राष्ट्रपति भण्डारीले शनिबार अपराह्न ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापान कार्यक्रमको आयोजना गरेकी छन् ।
 
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार