नेपालका भावी राष्ट्रपतिबारे प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

मंगलबार, माघ २४, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछिको परिस्थिति विश्लेषणसहितका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । दुई नेताबीच भावी राष्ट्रपति चयनका लागि हुने निर्वाचन र उम्मेदवारका विषयमा छलफल भएको बताइएको छ । भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेले प्रधानमन्त्री प्रचण्डको भूमिकामाथि आशंका व्यक्त गरिरहेका बेला भएको दुई नेताबीचको भेटलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच केही दिनयता नियमित जसो छलफल भइरहेको छ । 
आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुँदै । निर्वाचन आयोगले आगामी फागुन २५ मा राष्ट्रपति चयनका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रपति निर्वाचनलाई लिएर लिएर राजनीति तात्न थालेको छ । 
संसद्को पहिलो दल कांग्रेसले समेत राष्ट्रपतिका लागि आकांक्षा राखेको छ । प्रधानमन्त्री प्रचण्डलाई संसद्मा विश्वासको मत दिएका कारण राष्ट्रपति आफ्नो दलको हुनुपर्ने मागलाई काँग्रेसले उठाउँदै आएको छ । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेलाई राष्ट्रपति दिने सहमति भएको एमालेको दाबी छ । प्रधानमन्त्री प्रचण्डले एमालेको उम्मेदवार भन्दा राष्ट्रिय सहमित हुन सक्ने उम्मेदवार खोज्नु पर्ने धारणा सार्वजनिक गरेपछि एमाले प्रचण्डसँग झस्किएको छ ।  यही संशयका बीच प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बीच मङ्गलवार छलफल भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफल राष्ट्रपति निर्वाचन केन्द्रित थियो । 
मङ्गलवार भएको भेटमा पनि अध्यक्ष ओलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन नसक्ने प्रधानमन्त्रीलाई बताए । । उनले आफ्नो पार्टी एमालेका उम्मेदवारलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको बुझिएको छ ।
यसअघि सोमबार प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त रूपमा राष्ट्रपतिका विषयमा छलफल गरेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार