नाउपाका सांसद अरुणकुमार चौधरीको मुद्दामा उच्च अदालतले दिएन अन्तरिम आदेश 

सोमबार, माघ २३, २०७९

काठमाडौँ । १३ वर्ष अघिको आगजनी मुद्दामा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरीको रिटमा उच्च अदालत दिपायलले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तरिम आदेश नदिएको उच्च अदालतले कारण देखाउ आदेश भने जारी गरेको छ । 
१३ वर्ष अघिको आगजनी मुद्दामा सांसद चौधरीसहितका तीन जनालाई जिल्ला अदालत कैलालीले ६ महिना कैद र आठ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो । सोही मुद्दामा प्रहरीले चौधरीलाई केही दिनअघि बाँकेबाट पक्राउ गरेको थियो । चौधरी हाल कैलाली कारागारमा थुनामा छन् ।
चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उच्च अदालतले कारण देखाउ आदेश मात्र जारी गरेको हो । चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए । 
उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले अन्तरिम आदेश नदिएर जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । चौधरीको मुद्दामा अन्तरिम आदेश जारी गर्नुनपर्ने कारण वा प्रमाण भए १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरिएको छ । उक्त मुद्दाका वादी र प्रतिवादी दुवै पक्षसँगको छलफलपछि अन्तरिम आदेश सम्बन्धमा निर्णय गर्न सकिने छ । त्यसका लागि माघ २९ गते अर्को पेशी तोकिएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार