नेपाली राष्ट्रिय क्रिकेट टोलीले पायो प्रशिक्षक, भारतीय क्रिकेटर मोन्टी देशाई प्रशिक्षक नियुक्त

सोमबार, माघ २३, २०७९

काठमाडौँ । मनोज प्रभाकरले राजिनामा दिएपछि कोचविहिन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मुख्य प्रशिक्षक (कोच) पाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाईलाई नियुक्त गरेको हो । क्यान अन्तर्गतको मुख्य प्रशिक्षक छनोट समितिले मोन्टी देसाईलाई नियुक्त गर्न सिफारिश गरेपछि उनी प्रमुख प्रशिक्षकमा नियुक्त भएका हुन् । क्यानले मुख्य प्रशिक्षको लागि खुला आवेदन गरेको थियो । क्यानले मागेको आवेदनमा २४ जनाले प्रशिक्षक सहभागी थिए । तीमध्ये क्यानले अन्तिम चरणमा पाँच प्रशिक्षकको नाम सार्वजनिक गरी अन्तर्वार्ता लिएको थियो । 
देशाई एक साताअघि नै नेपाल आएका हुन् । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृत दिएपछि आज देशाईलाई नियुक्त गरेको क्यानले जनाएको छ । यसअघि देशाईले सन् २०१७ मा नेपाली यु–१९ टोलीको ब्याटिङ कन्सल्ट्यान्ट सम्हालेका थिए । त्यसअघि उनले सन् २०१४ को आइसिसी टि ट्वान्टी विश्वकप छनोटको क्रममा राष्ट्रिय क्रिकेट टोलीको लागि काम गरेका थिए । 
त्यसैगरी देशाई पछिल्लो तीन वर्ष वेस्टइन्डिजमा ब्याटिङ प्रशिक्षकको रुपमा काम गरेका थिए । उनले सन् २०१९ देखि २०२२ को डिसेम्बरसम्म वेष्टइन्डिजमा काम गरेका थिए । 
अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु मैदानमा आयोजना हुने आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा छ । उक्त प्रतियोगितामा देशाईले नेपाली टोलीलाई प्रशिक्षण दिनेछन् । नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने उक्त प्रतियोगितामा आगामी फागुन २ गतेदेखि सुरु हुनेछ । देसाई प्रशिक्षणले नेपाली खेलाडीको ब्याटिङमा सुधार आउने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार