राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री उर्मिला अर्याल निर्वाचित

सोमबार, माघ २३, २०७९

काठमाडौँ । राष्ट्रियसभाले आफ्नो दोस्रो उपाध्यक्ष पाएको छ । उपाध्यक्षमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्वाचित भएसँगै राष्ट्रिय सभाले दोस्रो उपाध्यक्ष पाएको हो । 
तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि एक वर्षदेखि उपाध्यक्षको पद खाली थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजको बैठकमा उपाध्यक्ष पदका लागि एकजनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । 
परिणाम सार्वजनिक गर्नुअघि राष्ट्रिय सभाको बैठकमा बोल्दै एमालेका सांसद देवेन्द्र दाहालले राष्ट्रियसभाका उपाध्यक्षका रुपमा अर्याल योग्य व्यक्तित्वका रुपमा रहेको बताए । 
उपाध्यक्षका लागि अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलनको एक सिद्धहस्त व्यक्तित्वलाई उपाध्यक्षका रुपमा पाएको बताएका थिए । 
प्रस्तावका पक्षमा आफ्नो धारणा राख्दै सांसद खिमलाल देवकोटाले महिला नेत्री एवं राष्ट्रियसभाका सदस्यका रुपमा रहनुभएका सांसद अर्यालको भूमिका नेपालको महिला आन्दोलनमा प्रशंसनीय रहेको बताए । 
माओवादी केन्द्रका स्थायी समिति सदस्य रहेकी अर्याल पूर्वस्थानीय विकास मन्त्री पनि भएकी थिइन् । विसं २०१३ असोज २० गते साविक जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सामा जन्मेकी हुन् । हाल उनी वीरगञ्ज महानगरपालिका–२३, गण्डक चोक वीरगञ्जमा बस्छिन् । तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गत वर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित भएकी थिइन् । उनी विसं २०७८ माघ १२ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन् । 
समाजशास्त्रमा स्तातकोत्तर गरेकी अर्याल विद्यावारिधिको शोधार्थी हुन् । अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेकी अर्यालले महिला विकास अधिकृतका रुपमा पनि सेवा गरेकी थिइन् । 
उनले चीन, भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, कीर्गिस्तान, फिलिपिन्स, थाइल्याण्ड, इन्डोनेसिया, अमेरिका, फ्रान्स, स्पेन, स्वीट्जरल्याण्डलगायतका देशको भ्रमण गरेकी छन् । उनका महिला सशक्तीकरण तथा समावेशीकरण एवं कार्ययोजना, कम्युनिष्ट आन्दोलनमा महिलाको भूमिका (सहाना प्रधानसँग संयुक्त लेखन) आर्थिक विकासका विषयमा अनुसन्धानमूलक लेख विभिन्न जर्नलमा प्रकाशित छन् । 
राष्ट्रिय सहमतिको निरन्तरता ः उपप्रधानमन्त्री श्रेष्ठ
यसअघि आजको बैठकमा सांसद अर्याललाई उपाध्यक्षमा  निर्वाचित गरियोस् भन्ने प्रस्ताव  प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले उपाध्यक्ष पदका लागि अरु सदस्यको उम्मेदवारी नपर्नु सरकारले पाएको राष्ट्रिय सहमतिको निरन्तरता रहेको बताए । 
“सरकारले विश्वासको मत लिँदा राष्ट्रिय सहमतिको सन्देश दिनेगरी मत पाएकोमा अहिले त्यसकै निरन्तरताका रुपमा उपाध्यक्षमा पनि राष्ट्रिय सहमतिको वातावरण बनेको छ”, उनले भने । 
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार