राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो

आइतबार, माघ २२, २०७९

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ। सरकारबाट बाहिरिने निर्णय गरेको भए पनि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले जानकारी दिए ।
रास्वपासहितको समर्थनमा गत १० पुसमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको थियो । प्रचण्ड नेतृत्वको सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको रास्वपा गृह मन्त्रालयमा कुरा नमिलेपछि सरकारबाट बाहिरिएको हो ।
नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएसँगै लामिछाने सांसद, उपप्रधान तथा गृहमन्त्रीसहितका पद गुमाएका थिए । १३ माघमा सर्वोच्च अदालतको संवैधानिक इजलासले उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दा बुझाएको नेपाली नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर गरेको थियो ।
अदालतको फैसलाको दुई दिनपछि १५ माघमा अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रविले पुनः नेपाली नागरिकता प्रमाणपत्र लिएका थिए । यसपछि सोही दिन प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई उपप्रधान तथा गृहमन्त्रीको शपथ खुवाउन आग्रह गरेका थिए ।
तर, प्रधानमन्त्री प्रचण्डले लामिछानेको राहदानी पनि विवादमा परेको र नागरिकतालाई अवैध ठहर गरेको अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल कसैलाई पनि गृहमन्त्री नबनाउने बताएका थिए । प्रचण्डको यही अडानकै कारण रास्वपा आइतबार सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो । रास्वपाबाट सरकारमा सहभागीहरुले आइतबार नै मन्त्रीबाट राजीनामा दिने तयारीमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री पाएको थियो । अहिले सरकारमा यो पार्टीका दुई मन्त्री र एक राज्यमन्त्री छन्। गत असारमा घोषणा भएको यो पार्टीबाट श्रम तथा रोजगार मन्त्रीमा डोल प्रसाद अर्याल र शिक्षा मन्त्रीमा शिशिर खनाल छन् । यो दलबाट तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री छिन्।

यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका पार्टी सभापति रवि लामिछानेले सर्वोच्च अदालतले नागरिकताकको विषयमा प्रश्न उठाउँदै सांसद पद खारेज गरिदिएपछि पदबाट राजीनामा दिएका थिए।

यो दलले यसअघिनै सरकारबाट बाहिरिने तयारी गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको आग्रहपछि थप दुई दिन पर्खने बताएको थियो । पुनः शनिवार पार्टी कार्यालय बसुन्धरामा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा यसअघि गठबन्धनभित्र भागबन्डामा स्वतन्त्र पार्टीको भागमा परेको गृह मन्त्रालय पार्टीलाई नदिइएपछि उत्पन्न परिस्थितिबारे छलफल भएको बताइएको छ। आइतवार पार्टी बैठकअघि रवि लामिछानेले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग भेट गरेका थिए । गृह मन्त्रीबाट हटेपछि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग छलफलहरू गरेका विवरण आएका थिए ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार