राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय सहमति नभए विचार मिल्नेसँग सहकार्य

गृहमन्त्रीको बारेमा रास्वपाको धारणा बुझ्ने 
शनिबार, माघ २१, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने पुनः निर्णय गरेको छ । यसअघि पनि माओवादीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सहमति नभए विचार, दृष्टिकोण, उद्देश्य मिल्नेसँग सहमति खोज्ने माओवादीको निर्णय छ । 
पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि सहमतिको कोशिस गर्ने र सहमति नभए बिचार, दृष्टिकोण, लक्ष्य र उद्देश्य मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष रहेको बताए । उनले सवै पक्षसँग छलफलका लागि खुल्ला रहेको र सवै मिलेर अघि बढौ भन्ने माओवादीको धारणा रहेको बताए । पौडेलले अहिले एमालेलाई बाहिर राखेर नभइ सवै मिलेर अघि बढ्नुपर्ने अवस्था रहेको जिकिर गरे । उनले गृहमन्त्रीको बारेमा अब रास्वपाको धारणा बुझ्ने र अघि बढ्ने बताए ।
स्थायी कमिटी बैठकले दुई महिने पार्टी संगठन सुदृढीकरण र विस्तारका लागि अभियान चलाउने निर्णय गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । दुई महिनाको अवधिमा सबै नेताहरु फिल्डमा जाने, सबै कमिटीहरूको बैठकहरु बस्ने , रिपोर्ट तयार गर्ने र त्यसपछि बस्ने केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने उनले बताए । बैठकले पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भइसकेपछि आएका केहि निर्देशन र वक्तव्यहरुलाई पनि सबै तहमा लैजाने र कार्यान्वयन गर्ने निर्णय गरेको महराले बताए ।

‘सबै पक्षसँग कुरा हुन्छ’
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मागका सन्दर्भमा सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् । 
सबै पक्षसँग संवाद गरी समस्याको समाधान गर्ने प्रचण्डले बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले भने, “अहिले मेरो कुरा हुँदैछ समस्या समाधान हुन्छ ।”
गृह मन्त्रालय आफैंले पाउनुपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी दिँदै आएको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले निर्णय गरेपछि रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेको सांसद पदसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारीबिहीन भएका थिए । नागरिकता पुनः प्राप्त गरेसँगै लामिछानेले आफूलाई सोही पदमा पुनःस्थापित गर्न दबाब दिँर्दै आएका छन् । 

दुई महिने अभियान चलाउने
माओवादी केन्द्रले आगामी दुई महिना पार्टीका सबै नेता तथा कार्यकर्तालाई सङ्गठन निर्माणमा परिचालन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले पार्टीका सबै जनवर्गीय सङ्गठन, जनसङ्गठन एवं सहायक सङ्गठनको बैठक आयोजना गर्ने निर्णय गरेको छ । सो बैठकसँगै पार्टीको प्रदेश तथा जिल्ला समन्वय समिति एवं स्थानीय समितिको बैठक आयोजना गरिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
उनले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध गएर घात तथा प्रतिघात गर्नेसम्बन्धमा पनि स्थानीय रुपमा नै समीक्षा गर्ने निर्णय बैठकले गरेको छ । जनतासँग जोडिएर पार्टीको समग्र अवस्थाको मूल्याङ्कन गरेर आगामी दुई महिनापछि केन्द्रीय समितिको बैठक बोलाइने प्रवक्ता महराले जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार