नेपाल क्रिकेट संघ (क्यान) र सन्दीपविरुद्ध माइतीघरमा प्रदर्शन

शनिबार, माघ २१, २०७९

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । लामिछानेलाई राष्ट्रिय टीममा समावेश गरिएको भन्दै विरोधमा प्रदर्शन भएको हो ।  काठमाडौंको माइतीघरमा केही स्वतस्फुर्तरुपमा जम्मा भएका युवायुवतीले प्रदर्शन गरेका हुन् । 
महिलावादी अभियन्ताहरूको पहलमा भएको प्रदर्शनमा क्रिकेट संघविरूद्ध नाराबाजी भएको थियो। उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड साथमा बोकेका थिए । लामिछानेलाई शुक्रबारबाट बन्द प्रशिक्षणमा सहभागी गराएसँगै क्यानविरुद्ध आलोचना भइरहेको छ । आगामी महिना त्रिवि क्रिकेट मैदानमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रंखलाका लागि उनीसँगै २० जनालाई बन्द प्रशिक्षणमा सामेल गराइएको हो ।
बलात्कारको आरोप लागेका सन्दीपलाई क्यानले यसअघि निलम्बन गरेको थियो। गत मंगलबार बसेको क्यान बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेको हो । 
सन्दीप लामिछानेको निलम्बन फुकुवा र क्यानले बन्द प्रशिक्षणमा राखेको विषयलाई लिएर माइतीघरमा प्रर्दशन भएको हो ।  ‘बलात्कारी रमाउँदै पीडित डराउँदै’, ‘उता फिक्सिङ गराउने, यता अभियुक्तलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद’लगायतका प्ले कार्ड बोकेर मानिसहरु प्रर्दशनमा उत्रिएका थिए ।
उच्च अदालत पाटनको आदेशबाट लामिछाने पुस २९ गते धरौटीमा रिहा भएका हुन् । प्रशिक्षणमा बोलाइनुअघि क्यानले लामिछानेको निलम्बन फुकुवा गरेको थियो । त्यस्तै, खेलमा फर्काउन बन्द प्रशिक्षणमा राखेपछि क्यानको विरोध भइरहेको छ ।
बलात्कारको अभियोगमा असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । १७ वर्षीय किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोप लामिछानेमाथि लागेको छ। जिल्ला अदालत काठमाडौंमा मुद्दा अन्तिम सुनुवाइको चरणमा छ ।
सन्दीपको निलम्बन फुकुवामाथि काँग्रेस महामन्त्री गगन थापाको पनि असहमति 
यसअघि कांग्रेसका महामन्त्री गगनकुमार थापाले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काएर नेपाल क्रिकेट संघ क्यानले गलत गरेको बताएका थिए । हतारोमा गलत निर्णय भएको भन्दै उनले तत्काल फिर्ता लिन माग गरेका थिए । 
अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा धेरैले आफ्नो धारणाबारे प्रश्न गरेको भन्दै थापाले ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्, ‘मेरो धारणा प्रष्ट छ, बलात्कार जस्तो गम्भीर अभियोग लागेका व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउनु हुन्न ।’
एक साताअघि कांग्रेस जिल्ला सभापति समेत रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेर अदालतको फैसला नआउँदासम्म हतारमा कुनै पनि निर्णय नगर्न आग्रह गरेको उनले बताएका छन् । कांग्रेस महामन्त्री थापाले भनेका छन्, ‘उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो, तर त्यसो हुन सकेन ।’
थापाले अघि भनेका छन्, ‘पुन दोहो¥याउन चाहन्छु, बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ ।’

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार