श्रमिकलाई पेशागत परिचयपत्रको व्यवस्था गर्न ललितपुर महानगरसँग माग 

श्रमिकको दुर्घटना विमा अनिवार्य गर्नुपर्ने 
शुक्रबार, माघ २०, २०७९

ललितपुर ।  नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) ले ललितपुर महानगरभित्रका श्रमिकहरुको पञ्जिकरण गरी उनीहरुलाई पेशागत परिचयपत्रको व्यवस्था मिलाउन माग गरेको छ । 
काउनका अध्यक्ष श्याम प्रसाद तिमल्सिनाले पञ्जिकरणले महानगरभित्रका श्रमिकको अवस्था थाहा पाउन सजिलो हुने बताए । श्रमिकका लागि महानगरले ल्याउने कार्यक्रममा समेत परिचयपत्रले सहयोग पुर्याउने उनले दाबी गरे । 
संघले ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो । ज्ञापनपत्रमा महानगरभित्र कार्यरत निर्माण श्रमिकहरुको दुर्घटना विमा अनिवार्य गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।  
क्रसर उद्योग, इँटा उद्योग र ढुंगा खानीमा कार्यरत श्रमिकको नियमित स्वास्थ्य परीक्षण, औषधिउपचारको सम्बन्धमा नीतिगत व्यवस्था मिलाउन समेत ज्ञापनपत्रमा भनिएको छ । साथै, ठूला ठूला परियोजनामा कार्यरत श्रमिकका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सेवासुविधाको व्यवस्था गर्न उक्त पत्रमा माग गरिएको छ । 

328834206_593873152184302_5001562877995699278_n1675401414.jpg
अनौपचारिक क्षेत्रमा श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न नीतिगत व्यवस्था गर्न समेत ज्ञापनपत्रमा भनिएको छ । 
ज्ञापनपत्र बुझ्दै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले श्रमिकहरुको सुरक्षामा महानगरपालिका संवेदनशील रहेको बताए । महानगरपालिकाको सम्बन्धित शाखाहरुसँग छलफल गरी योजना बनाएर कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार