नागरिक उन्मुक्तिका सांसद चौधरीलाई आज अदालतमा उपस्थित गराइँदै

शुक्रबार, माघ २०, २०७९

कैलाली । बिहीबार बाँकेबाट पक्राउ गरी धनगढी ल्याइएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीलाई आज अदालतमा पेस गरिने भएको छ । कैलालीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी नागरिक उन्मुक्ति पार्टी संसदीय दलका सचेतक समेत हुन् । बिहीबार बेलुका उनलाई हवाईजहाज मार्फत धनगढी ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले हिरासतमा रहेका चौधरीलाई आज अदालत पेस गरिने बताए ।
झन्डै १३ वर्ष अघि ट्रयाक्टरमा आगजनी गरेको मुद्दामा ९ वर्ष अघि उनलाई जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो। उक्त मुद्दामा जिल्ला अदालतले उनलाई ६ महिना कैद सजाय तोके पनि उनी भने फरार थिए ।
आफ्ना सांसदलाई पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले भने आन्दोलन गर्ने चेतावनी दिएको छ । बिहीबार चौधरी पक्राउ परेपछि बौनियामा प्रदर्शन गरिएको थियो। आज कैलालीमा यातायात र बौनिया बजार बन्द गरिने जनाइएको छ ।
पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले सुनियोजित ढङ्गबाट पक्राउ गरिएको भन्दै तत्काल उनको रिहाइ हुनुपर्ने बताएकी छन् ।

‘निर्वाचित सांसदको पक्राउ सुनियोजित’
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद अरुण चौधरीलाई सुनियोजितरूपमा पक्राउ गरिएको आरोप लगाएकी छन् । पक्राउ परेका सांसद चौधरीसँगै काठमाडौंबाट धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले विमानस्थलमा सञ्चारकर्मीहरूसँग यस्तो प्रतिक्रिया दिएकी हुन् ।
‘उहाँलाई सुनियोजित ढंगले पक्राउ गरिएको छ’ उनले भनिन्, ‘९ वर्षदेखि फरार भनिएको छ । यो बीचमा उहाँले अन्य पार्टीबाट मेयर र प्रदेशसभाको निर्वाचन पनि लडिसक्नु भएको छ त्यो बेला फरार नहुने अहिले नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएर माननीय भइसकेपछि फरार भन्ने हुन्छ ?’
निर्वाचित सांसदलाई फरारसूचीमा राखेर पक्राउ गर्नुले सरकारका विषयमा सोच्न बाध्य बनाएको पनि उनले बताइन् ।
बाँकेमा प्रहरीले चौधरीलाई पक्राउ गरेलगत्तै उनले सांसद चौधरी सम्पर्कविहीन रहेको सामाजिक सञ्जालमा लेखेकी थिइन् । बाँकेबाट काठमाडौं जहाजमा लगेर चौधरीलाई धनगढी ल्याउने क्रममा रञ्जिता पनि सँगै आएकी हुन् ।
‘उहाँलाई फसाइएको हो भन्ने कुरा प्रस्ट छ’ उनले भनिन् ‘रिहा नहुँदासम्म म उहाँसँगै हुन्छु ।’
जिल्ला प्रहरी कार्यालयमा पनि श्रेष्ठ चौधरीसँगै पुगेकी थिइन् । भोलि जिल्ला अदालतमा पनि सँगै जाने उनले बताइन् ।
२०६६ भदौ ३ गते लु. २ त २११ नम्बरको ट्याक्टर जलाएको अभियोगमा भन्दै कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनालाई २०७० वैशाख ९ गते छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
फैसला हुनुअघि नै सरकारले यी लगायतका घटनाको मुद्दा फिर्ता लिने सहमति गरिसकेको थियो । सरकारले मुद्दा फिर्ता लिइसकेको घटनालाई लिएर निर्वाचित सांसद पक्राउ परेको भन्दै नागरिक उन्मुक्तिले आन्दोलनको चेतावनीसमेत दिएको छ ।
सांसद चौधरीलाई २४ घण्टा भित्र रिहा नगरे सशक्त आन्दोलन गर्ने नागरिक उन्मुक्ति पार्टीले विज्ञप्ति मार्फत जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार