रबि क्रेज : गृहमन्त्री बनाउनुपर्ने भन्दै जुम्लामा आत्मदाहको प्रयास

बिहीबार, माघ १९, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै जुम्लामा एकजनाले आत्मदाहको प्रयास गरेका छन् ।
बाँकेको कोहलपुरका गोकर्ण कार्कीले बिहीबार जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि आत्मदाहको प्रयास गरेको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । नागरिकता विवादका कारण गृहमन्त्री र सांसद पद गुमाएका लामिछानेलाई अन्याय भएको भन्दै कार्कीले आत्मदाहको प्रयास गरेका थिए । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारीचालक हुन् । कार्कीले आफैँमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।
शरीरमा आगो लगाउने प्रयास गर्नेबित्तिकै थाहा पाएपछि अरू कर्मचारीले उनको तत्काल उद्धार गरेका थिए । उनको अवस्था सामान्य रहेको छ । 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभर ४० वर्षीय कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।
मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्दार गरेको छ । परीक्षक निरीक्षक याम बहादुर बुढामगर भन्छन्, ‘ कुनै दुर्घटना हुन पाएन, थप प्रहरी अनुसन्धानबाट खुल्ला ।’

मौनता भंग गर्ने रविको चेतावनी

यसैबीच रास्वपाका सभापति रविले मौनता भंग गर्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नोविरुद्ध बोल्न र लेख्न बाँकी भए तत्काल गरिहाल्न आग्रह गर्दै मौनता आजसम्मका लागि मात्रै भएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन।’ सर्वोच्च अदालतको आदेशबाट सरकारको महत्वपूर्ण मन्त्रालय गुमाएका उनले केही दिन यता फेरि गृहमन्त्री बन्न दौडधुप गरेको सञ्चारमाध्यममा सार्वजनिक भइरहेको छ ।
उनी मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गृहमन्त्री बनाउन आग्रह गरेको खुलाशा भएको थियो । सोही कारणले उनले यस्तो अभिब्यक्ति दिएको आँकलन गरिएको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठकमा मन्त्रीहरुलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको बुझिएको छ । अहिले रास्वपाका तर्फबाट श्रम मन्त्री डोलप्रसाद आर्याल, शिक्षा मन्त्री शिशिर खनाल तथा स्वास्थ्या राज्यमन्त्री डा.तोसिमा कार्की सरकारमा सहभागी छन् ।
केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ४ बजे बस्नेगरी पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार