नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ

बिहीबार, माघ १९, २०७९

काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीले बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो । उनी प्रहरीको फरार सूचीमा रहेका थिए । उनलाई अहिले धनगढीस्थित कैलाली जिल्ला अदालतमा लग्ने तयारी भएको प्रहरी अधिकृतले जानकारी दिएका छन् । उनी कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनीसहित तीनजनालाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको अभियोगमा ६ महिना कैद सजाय र  ८ लाख १९ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । सांसद चौधरीसहितले २०६५ साल भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दा परेको थियो । हालको लम्कीचुँहा नगरपालिका (साविकको बलिया गाविस) क्षेत्रमा उक्त ट्याक्टर जलाइएको थियो । प्रतिनिधिसभाका सदस्य चौधरीसहित तीन जनालाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते कैद तोकेको थियो ।

पक्राउ परेका सांसद चौधरीलाई काठमाडौं ल्याइँदै
बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ । उनलाई आजै नेपालगन्जबाट हवाईमार्गमार्फत काठमाडौं ल्याइने प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । स्थलमार्गबाट ल्याउँदा सुरक्षा जोखिम हुन सक्ने भएकाले हवाईमार्गमार्फत काठमाडौं ल्याउन लागिएको प्रहरीको भनाइ छ । उनलाई बिहीबारै पक्राउ गरिएको हो । काठमाडौं ल्याएपछि उनलाई फैसला कार्यान्वयनका लागि कैलालीमा पठाउने सम्बन्धमा निर्णय लिइने प्रहरी स्रोतले बतायो ।
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार