विवाद नसल्टाइ सकियो क्यानको पोखरा बैठक 

बुधबार, माघ १८, २०७९

काठमाडौं ।  मंगलवारबाट पोखरामा शुरु भएको नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमितिको बैठक सकिएको छ । विवादबाटै सुरु भएको बैठक सम्बन्धमा सुधार नभइ सकिएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बैठक सुरु गरिसकेपछि असन्तुष्ट ७ जना बोर्ड सदस्यले समय माग्दै भने, ‘हाम्रो एउटै मात्र एजेण्डा छ । वाचन गरेर सुनाउन चाहान्छौं ।’ अध्यक्ष चन्दले पनि समय दिइहाले । बोर्ड सदस्य ऋषिराम गौतमले पत्र पढेर सुनाए । जसको सार थियो, ‘नेतृत्वको राजीनामा ।’
त्यसपछि उनीहरु चन्दको अध्यक्षतामा बैठक बस्न नैतिकताले नदिने भन्दै बाहिरिए ।  पत्रकार सम्मेलन गर्दै आफूहरुले राजीनामा मागेको बताए ।
यता चन्दले भने बैठक जारी राखे र बेलुकी अबेरसम्म बसेको बैठकले पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फिर्ता गर्ने लगायतका विभिन्न निर्णयहरु गर्‍यो ।

लामिछानेको निलम्बन फिर्ता
मंगलवारको बैठकले पूर्वकप्तान सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फिर्ता लिने निर्णय गरेको छ। नाबालिग बलात्कारको मुद्दा लागेपछि क्यानले भदौ २३ गते लामिछानेलाई राष्ट्रिय टोलीबाट निलम्बित गरेको थियो । सय दिन जेल बसेका लामिछानेलाई उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उनको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको छ । अदालतको अन्तिम फैसला नआएसम्मको लागि उनी रिहा भएका हुन्। अदालतको फैसलाले दोषी ठहर गरेको खण्डमा लामिछाने पुनः जेल बस्नु पर्ने हुन्छ।
बलात्कारको अभियोगमा असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । १७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी दर्ता भएपछि प्रहरीले सन्दीपलाई खोजी गरेको थियो। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।
माघ १३ गते क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सिरिजका लागि २८ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा बोलाउँदा लामिछानेलाई भने बोलाएको थिएन ।
अर्कोतर्फ मंगलवार नै लामिछानेलाई पुनः थुनामै राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता पनि भएको छ। महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई पुन थुनामा राखेर पूर्पक्ष माग गर्दै सर्वोच्चमा मंगलवार निवेदन दर्ता गरेको हो ।

कार्यवाहक सचिव मल्लको राजीनामा, पाठकलाई जिम्मेवारी
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बोर्ड बैठकमा कार्यवाहक सचिवको पदबाट राजीनामा दिएका छन् । यसअघि क्यानले माघ १२ गते गरेको पत्रकार सम्मेलनबाटै उनले राजीनामा गर्ने तयारी गरेको चर्चा भए पनि उनले राजीनामा दिएका थिए । क्यानका असन्तुष्ट समूहले कार्यसम्पादन समितिका सदस्य र गभर्निङ काउन्सिलका सदस्यको राजीनामा माग्दै आएका थिए। मल्ल दुबै समितिमा थिए । तत्कालीन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्लले सचिवको जिम्मेवारी पाएका थिए । मल्लको स्थानमा कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकले पाएका छन्।

यू १९ टोलीको कप्तानमा गुलसन
नेपाली यू १९ क्रिकेट टोलीको कप्तानमा गुलसन झा नियुक्त भएका छन् । यसअघि देव खनालले कप्तानी गर्दै आएकामा पहिलो पटक झाले कप्तानको जिम्मेवारी पाएका हुन् । आईसीसी यू १९ पुरुष क्रिकेट विश्वकपको एसिया क्वालिफायर्स अन्तर्गतको खेलका लागि १४ सदस्यीय टोलीको घोषणा भइसकेको छ।

कोको छन् टोलीमा ?
आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दिपक बोहोरा, गुलसन झा, दीपक बोहोरा, देव खनाल, उत्तम थापा मगर, सुवास भण्डारी, दीपक डुम्ब्रे, विशाल केसी, दीपेश कणेल, मिलन बोहोरा

रिजर्भ
प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा, राजेश यादव

खेलाडीको ग्रेडिङ
सन् २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाका लागि १८ पुरुष खेलाडी र १२ महिला खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको छ ।

पुरुषतर्फ

ग्रेड ए : रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख

ग्रेड बी : आरिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल

ग्रेड सी :  कमलसिंह ऐरी, बिनोद भण्डारी, गुलसन झा, अर्जुनकुमार साउद, अविनास बोहोरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव अनाल, सागर ढकाल, विवेक यादव

महिला तर्फ

ग्रेड ए : रुविना क्षेत्री, सीता रानामगर, इन्दु वर्मा

ग्रेड बी : काजोल श्रेष्ठ, कविता कुँवर, अस्मिना कर्माचार्य

ग्रेड सी : कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे, अप्सरी बेगम

अरु निर्णय केके भए ?
क्यानको बोर्ड बैठकले एसीसी प्रिमियर लिग आयोजना गर्ने निर्णय गरेको छ । एसियन क्रिकेट काउन्सिल ९एसीसी०को प्रस्तावमा नेपालले उक्त प्रतियोगता अप्रिल महिनामा आयोजना गर्ने भएको हो । त्यस्तै नयाँ नेतृत्वका लागि क्यानको निर्वाचन जेठ मसान्तभित्र गर्ने निर्णय गरेको छ। त्यस्तै क्यानको साधारणसभा फागुन १४ र १५ गते सुर्खेतमा हुनेछ । त्यस्तै बाग्लुङ र पर्वत जिल्ला क्रिकेट संघ तदर्थ समितिलाई मान्यता दिने र अनुमोदनका लागि साधारणसभामा पेश गर्ने निर्णय गरेको छ ।
बोर्डले पूर्वप्रहरी नायव महानिरीक्षक र्इश्वरबाबु कार्कीको संयोजकत्वमा एन्टी करप्सन अफिसर रितेस सिंह र एकजना सदस्य पछि मनोनयन गर्ने गरि क्यान इन्टिग्रिटी कमिटी गठन गर्ने निर्णय गरेको छ । क्यानको असन्तुष्ट पक्षले राजीनामा माग्दै आएको गभर्निङ कमिटीलाई नेपाल टी २० सकिएकाले विगठन गर्ने निर्णय गरेको छ ।

असन्तुष्ट पक्ष के भन्छन् ?
अर्कोतर्फ असन्तुष्ट ७ जना बोर्ड सदस्य भने आगामी बाटो खोज्ने बताएका छन् ।
‘कार्यवाहक सचिवले राजीनामा गर्नुभयो भन्ने सुनेको हो। एकजनाबाट अर्को जनामा सरेर औचित्य छैन। दुर्गाराज पाठकलाई कार्यवाहक सचिव बनाएर अर्थ छैन’, एकजना बोर्ड सदस्यले भने, ‘उनी गभर्निङ काउन्सिलमा सदस्य छन्। सबै टी २० को जिम्मा लिने गभर्निङ काउन्सिल हो। यो दुनियाको आँखामा छारो हालेर प्रशान्तलाई बचाउने खेलमात्र हो। ‘रामे’ को ठाउँमा ‘श्यामे’ ल्याएर समाधान हुने कुरा होइन यो त।’
उनीहरुले राखेको स्पट माग थियो गभर्निङ काउन्सिल र कार्यसम्पादन समितिका सदस्यहरुको राजीनामा। तपाईँहरुको माग पुरा भएन अबको बाटो केरु भन्ने प्रश्नमा बोर्ड सदस्य ऋषिराम गौतमले आईसीसीदेखि अदालतसम्म जाने बताए ।
‘अब हामी कहाँकहाँ जानुपर्ने हो, त्यहाँ जान्छौँ। आईसीसीमा पत्र पठाउँछौँ। राखेपमा फेरि पत्र पठाउँछौँ। अदालतमा मुद्दै हाल्नु परे पनि मुद्दा हाल्छौँ’, बोर्ड सदस्य गौतमले भने । क्यानको असन्तुष्ट समूहमा केन्द्रीय सदस्य ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् ।
अर्कोतर्फ क्यानको बोर्ड बैठकले निर्वाचित १५ जना सदस्यबीचको मतभेदबारे निर्णय गर्दै क्यान निलम्बनतिर जाने खतरा भएकाले विगतका कमी कमजोरीलाई सच्याइ एक ढिक्का भएर आउन अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार