प्रधानमन्त्रीलाई मनाउन ओली बालुवाटारमा 

बुधबार, माघ १८, २०७९

काठमाडौं । गृह मन्त्रालय कसलाई दिने भन्ने विषयलाई लिएर सत्ता गठबन्धन नै टुट्ने खतरा देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनकै सरकारी निवास बालुवाटारमा भेट गरेका छन् । नागरिकता विवादमा सर्वाेच्च अदालतले रवि लामिछानेलाई सांसद् पदका लागि नै अयोग्य ठहर गरेपछि उनले सम्हाल्दै आएको गृह मन्त्रालय रिक्त छ । अहिले प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको पनि कार्यभार लिएका छन् । गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रबिले नागरिकता पुनर्प्राप्ति गरेपछि पूर्वसहमित अनुसार आफूलाई नै गृहमन्त्री बनाउन लविङ गरिरहेका छन् । उनले हिजो प्रधानमन्त्री प्रचण्डलाई भेट गरी गृहमन्त्री आफ्नो दलले नपाए सरकारबाटै अलग हुने चेतावनी पनि दिइसकेका छन् । एमाले अध्यक्ष केपी ओली गठबन्धन बन्दा भएको सहमति अनुसार नै गृहमन्त्रालय रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नै दिनुपर्ने तर्क गरिरहेका छन् । यस्तैमा बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच आज बिहान  छलफल भएको हो । दुई नेताको भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरिरहेको गृह मन्त्रालय, गठबन्धन सरकार, राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल भएको थियो ।
गृह मन्त्रालयको विषयलाई लिएर रास्वपाका सभापति रवि लामिछानेले हिजो प्रधानमन्त्री प्रचण्ड र ओलीबिच छलफल गरेका थिए । तर, दुवै नेताबाट सकारात्मक प्रतिक्रिया नपाएपछि रास्वपाले सरकार छाड्ने चेतावनी दिँदै आएको छ। ओली र प्रचण्डबीच आजको छलफलमा रविको मागबारे पनि छलफल भएको बताइन्छ।
सर्वोच्च अदालतले लामिछानेले नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको फैसला गरेपछि उनको सांसद पद गएको थियो। सोही फैसलाका कारण उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्रीबाट पनि हटेका थिए ।
लामिछानेले नागरिकता पुनः प्राप्त गरिसकेपछि गठबन्धनमा फेरि आफैलाई गृहमन्त्री बनाउनुपर्ने दबाब दिइरहेका छन् । प्रधानमन्त्री भने लामिछानेलाई फेरि मन्त्री बनाउनु अघि सर्वोच्चको पूर्णपाठको प्रतिक्षामा रहेको बताएका छन् । 
आजै बिहान प्रधानमन्त्री प्रचण्डसँग राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले पनि भेटवार्ता गरेका छन् । एमाले अध्यक्ष ओली तथा राप्रपा अध्यक्ष लिङ्देनसँगको भेटमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । 
 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार