सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । गृहमन्त्रालय आफूलाई नदिने हो भने सरकारबाट बाहिरिने चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रधानमन्त्री पुष्पकमल दाहा प्रचण्डको पार्टीले अहिलेकै अवस्थामा रास्वपालाई गृहमन्त्रालय दिन नसकिने स्पष्ट पारेको छ । रास्वपाका अध्यक्ष रवि लामिछानेले आजै प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेर आफ्नो दलले गृहमन्त्रालय नपाए सरकारबाटै बाहिरिने चेतावनी दिएर फर्किएका थिए । रविको चेतावनीपछि पार्टी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले अहिलेकै अवस्थामा गृहमन्त्रालयमा सहमति नहुने बताएको हो । पदाधिकारी बैठकमा फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका बारेमा पनि छलफल भएको थियो । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सहमतिका आधारमा नै राष्ट्रपति चयन हुनु पर्ने माओवादीको धारणा आएको बताए । पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको ब्रिफिङ गरेका थिए । पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले पूर्वगृहमन्त्री रवि लामिछानेका हकमा सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्ने सङ्केत गरे ।
तर प्रचण्डले गृह मन्त्रालयकै विषयलाई लिएर आफूहरू गठबन्धन टुटाउन नचाहेको भने भन्न छुटाएनन् । “हामी सल्लाह गर्दैर्छौ । सकेसम्म सत्ता साझेदार दल इन्गेज भइराख्ने गरी अघि बढ्छौँ ” सञ्चारकर्मीलाई जवाफ दिने क्रममा प्रचण्डले भनेका छन् । नागरिकताका विषयमा सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट लामिछाने हटेका थिए । लामिछानेले आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिइसकेका छन् । नागरिकता लिएपछि पार्टीको हाइकमाण्डमा रवि पुगिसकेका छन् । नागरिकता पुनप्र्राप्तिपछि आफूलाई पूर्ववत् पदमा फर्काउन लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई सोझै तथा एमाले अध्यक्ष केपी ओलीमार्फत पनि प्रचण्डमाथि दबाब दिँदै आएका छन् । ओली रविलाई गृह मन्त्रालयमै फर्काउन चाहन्छन् । रविलाई गृहमा फर्काउन सक्दा ओली राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन सकिने रणनीतिमा छन् । माओवादी केन्द्रको पदाधिकारी बैठकमा साङ्गठनिक विषयमा छलफल भएको थियो । पार्टीको स्थायी समितिको बैठक बुधबार पुनः बस्नेछ । आजको पदाधिकारी बैठकमा अदालतको पूर्ण पाठ नआउँदासम्म गृहमन्त्रीको विषयमा निर्णय नगर्न पदाधिकारी बैठकमासमेत कुरा उठेको थियो ।