पेशावरस्थित मस्जिदमा भएको बम आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५९ पुग्यो

मंगलबार, माघ १७, २०७९

इस्लामावाद । पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा प्रार्थना गरिरहेका प्रहरी लक्षित आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ५९ जनाको मृत्यु भएको छ । उक्त मस्जिद कडा सुरक्षा व्यवस्थापन भएको प्रहरी मुख्यालय क्षेत्र भित्र अवस्थित छ । ‘आतङ्कवादीहरू पाकिस्तानको रक्षा गर्ने जिम्मेवारी भएकाहरूलाई हमला गरेर डर पैदा गर्न चाहन्छन्’, प्रधानमन्त्री शहबाज शरिफले भने । पाकिस्तानी तालिबानले आफ्नो एक कमान्डरको प्रारम्भिक दाबी पछि उक्त हमलामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । गत नोभेम्बरमा यो समूहले युद्ध विराम अन्त्य गरेसँगै हिंसा बढ्दै गएको छ । डिसेम्बरमा उसले देशको उत्तर–पश्चिममा रहेको प्रहरी चौकी लक्षित आक्रमण गरेको थियो जसमा ३३ जना आतङ्ककारी मारिएका थिए । अस्पतालका प्रवक्ताले बताएअनुसार अहिलेसम्म मृतकको सङ्ख्या ५९ पुगेको छ ।  १५७ जना मानिस घाइते भएका छन् । पेशावरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले घटना हुँदा त्यस क्षेत्रमा ३०० देखि ४०० प्रहरी अधिकारीहरू रहेको स्थानीय सञ्चारमाध्यमलाई बताए ।
घटना भएको मस्जिद सहरको सर्वाधिक नियन्त्रित क्षेत्रहरू मध्ये एक हो जहाँ प्रहरी मुख्यालय, जासुसी र आतङ्कवाद विरोधी निकायहरू रहेका छन् ।

pak1675084357.jpg
प्रधानमन्त्री शरिफले उक्त आक्रमणको ‘इस्लाम धर्मसँग कुनै सम्बन्ध नभएको’ बताए । उनले भने, ‘सम्पूर्ण राष्ट्र आतङ्कवादको त्रासविरुद्ध एकजुट भएर उभिएको छ ।’
अफगानिस्तानसँगको सीमा नजिकै रहेको उत्तर–पश्चिमी सहरमा दिउँसोको प्रार्थनाको समयमा करिब साढे एक बजे विस्फोट भएको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक  भिडिओमा पर्खालको आधा भाग भित्र पसेको देखाइएको छ । मस्जिदभरि इँटा र भग्नावशेष देखिएका छन् र भाग्न खोज्ने मानिसहरू त्यहीँ लडिरहेको देखिन्छन् । विस्फोट भएको केही घण्टापछि प्रहरीकै बर्दीमा घाइतेहरूले भरिएको एक भवन देखिएको थियो । 
कतिपयलाई जलन हुँदा लगाउने मलहम लगाई दिइएको थियो । उनीहरूको छाला जलनका कारण रातो भएको देखिएको थियो । कतिपय भग्नावशेषमा ठोक्किँदा उनीहरूको हड्डी भाँचिएको छ । एक जना मानिसले विस्फोटको आवाजका कारण आफूले अझै सुन्न नसकेको बताए। अर्का एक जनाले भग्नावशेषमा फसेको करिब एक घण्टापछि मात्र आफ्नो उद्धार गरिएको बताए । अहिले पाकिस्तानका प्रधानमन्त्री आपत्कालीन भ्रमणका लागि पेशावर पुगेका छन् । त्यहाँ उनलाई स्थानीय अधिकारीहरूले घटनासम्बन्धी जानकारी दिनेछन् । विस्फोटमा घाइते भएकाहरूलाई भेट्नेछन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले आक्रमणको निन्दा गरेका छन् । उनका प्रवक्ताले भने, ‘प्रार्थना स्थलमा यस्तो आक्रमण हुनु घृणाको विषय हो ।’
पाकिस्तानी कूटनीतिका लागि एक महत्त्वपूर्ण साताको सुरुवातमा आक्रमण भएको हो । सोमवार, संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यान ईश्लामावादको भ्रमण गर्ने तयारीमा थिए । यद्यपि, मौसमी प्रतिकूलताका कारण अन्तिम समयमा उनको यात्रा रद्द गरिएको थियो ।
मङ्गलवार, अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिनिधिमण्डलले पाकिस्तानलाई ऋण तिर्न नसक्ने अवस्थामा पुग्नबाट रोक्नको लागि आर्थिक सहयोगको प्रक्रिया सुरु गर्न त्यहाँ भ्रमण गर्दैछ । गत मार्च महिनामा पनि पेशावर बम आक्रमणको भएको थियो । उक्त आक्रमणमा परी सुन्नी मुस्लिमको बाहुल्य रहेको देशमा शिया मुस्लिम मस्जिदमा रहेका दर्जनौँको ज्यान लियो । राजधानी इस्लामावादमा प्रहरीले उच्च सतर्कता जारी गर्दै सहरका सबै प्रवेश र निकास बिन्दुहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको बताएको छ ।–एजेन्सी 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १४:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार