रास्वपाको कार्यवाहक सभापति र संसदीय दलको नेतामा डीपी अर्याल चयन

शनिबार, माघ १४, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद (डिपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ ।
सर्वोच्च अदाललको फैसलापछि शुक्रबार राति बसेको रास्वपा केन्द्रीय समितिको आकस्मिक बैठकलले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । बैठकले अर्याललाई नै दलको नेता बनाउने निर्णय पनि गरेको छ । उनकै अध्यक्षतामा आज आकस्मिक बैठक बसेको थियो । उनी रास्वपाको तर्फबाट सरकारमा श्रम, रोजगार तथा श्रममन्त्रीको जिम्मेवारीमा छन् । बैठकमा रवि लामिछाने उपस्थित भएनन् । बैठकले आजको सर्वोच्चको फैसलालाई सम्मान गर्ने र कार्यन्वयन गर्ने निर्णय गरेको छ ।
नागरिकता विवाद मुद्दामा रवि लामिछाने दोषि देखिएपछि उनको पद गएको थियो । लामिछाने नागरिकता मुद्दामा दोषि देखिएपछि उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टी सभापति पदबाट स्वतः अलग भएका छन् ।
पार्टी बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका संस्थापक सभापति श्री रवि लामिछानेको नागरिकताका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट भएको फैसला बमोजिम पार्टीले आफ्नो कामकारवाही अगाडि बढाउने निर्णय गरेको छ । कानुनी राज्यको अवधारणा पार्टीको मूल विचार भएकाले न्यायालयको फैसलालाई पार्टीले सदैव सम्मान गर्दछ ।’
‘सम्मानित सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन हुँदा पार्टी सभापति पद रिक्त भएको ठहर गर्दै उक्त रिक्त सभापति पदमा केन्द्रीय समितिको बैठकबाट पार्टीको विधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति श्री डोल प्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति चयन गरेको छ’, बैठकको निर्णयमा भनिएको छ । 
पार्टीको संसदीय दलको बैठकले सम्मानित सर्वोच्च अदालतको फैसलाले पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोले रिक्त रहेको पार्टी संसदीय दलको नेतामा पार्टीका कार्यवाहक सभापति माननीय श्री डोल प्रसाद अर्याललाई चयन गरेको छ बैठकको निर्णयमा उल्लेख छ । 
साथै पार्टीको यस चुनौतिपूर्ण घडीमा पार्टीका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु संयमित रही विधिको र कानुनको सम्मान गर्न सबैमा हार्दिक अनुरोध गर्दछौं निर्णयमा उल्लेख छ । 

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  ०७:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार