गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

बुधबार, माघ ११, २०७९

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । गत २२ पुसमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि अन्तिम सुनुवाइका लागि आज बुधबार (माघ ११) लाई पेशी तोकिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको सांसद पद खारेजी माग गर्दै परेको मुद्धा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधिन छ । सर्वोच्चले दिएको समयसीमै लिखित जवाफ बुझाएका रविले आफूले पुनः नागरिकता लिनु नपर्ने जिकिर गरेका छन् ।
आयोगमा रविविरुद्ध कात्तिक २९ गते उजुरी परेको थियो । आयोगले मंसिर १३ गते रविलाई सांसदमा निर्वाचित घोषणा गरेको थियो। लामिछानेको सांसद पद खारेजी मागसहित गत मंसिर २८ गते पौडेलले सर्वोच्च अदालतमा रिट हालेका थिए । वंशजका आधारमा २०५० फागुन १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नेपाली नागरिकता लिएका थिए । तर अमेरिका गएका रविले २०७० फागुन ९ गते अमेरिकी नागरिकता प्राप्त गरे पनि नेपाली नागरिकता भने त्याग गरेका थिएनन् ।
अमेरिकी नागरिकता लिएको ५ वर्षपछि उनले २०७५ जेठ ५ गते नेपालस्थित अमेरिकी दुतावासमा अमेरिकी नागरिकता त्याग्न निवेदन दिएका थिए । त्यसअघिबाटै नेपालमा कार्यरत रवि भिसा लिएर नेपाल आएका थिए। २०७५ असार १४ गते अमेरिकी नागरिकता परित्यागको स्वीकृति पत्र पाएकाले त्यसपछि स्वतः नेपाली नागरिक भएको रविको दाबी छ ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार